25th September | 2020 | Friday | 9:56:59 PM

३३ खेलाडीको परीक्षण रिपोर्ट नेगेटिभ

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७७ (११:४७ PM)

३३ खेलाडीको परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोट खेल्नका लागि बन्द परीक्षणमा बोलाइएका ३३ खेलाडीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत सोमबार र मंगलबार परीक्षण गरिएका ३४ खेलाडीमध्ये ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ । एन्फाले एक जना खेलाडीको भने पुनः परीक्षण गर्नुपर्ने जनाएको छ ।

खेलाडीसँगै एन्फाले प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको जनाएको छ । आगामी असोजमा हुने तय भएको विश्वकप छनोटका खेलहरुको बन्द प्रशिक्षण सुरु गर्न एन्फाले खेलाडी तथा अफिसियलको पाटन अस्पतालमा कोरोना परीक्षण गराएको थियो ।

तर, एन्फा तथा एसियन फुटबल फेडेरेसनले कोरोना संक्रमण बढ्दै गएको भन्दै विश्वकप छनोटका खेलहरु नै स्थगित गरेपछि नेपालको प्रशिक्षण पनि स्थगित भएको छ । छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ । नेपालले असोजमा चाईनिज ताईपे र अष्ट्रेलियासँग तथा कात्तिकमा जोर्डनसँग खेल्ने मिति तय थियो । अब उक्त खेलहरु २०२१ सम्म नहुने बुधबार नै जनाइसकेको छ ।

खेलाडी रिलिज

नेपालको प्रशिक्षण रोकिएपछि एन्फाले होस्टल तथा होटलमा राखेका खेलाडीहरुलाई रिलिज गरेको छ । लामो दूरीका यातायात तथा हवाई उडान बन्द रहेकाले उपत्यका बाहिरका खेलाडीलाई एन्फाले घर पु¥याउने व्यवस्थापनसमेत गरिदिने भएको छ ।

राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले खेलाडीलाई एन्फाको गाडीमा उनीहरुको गृहजिल्लामा पु¥याइदिने बताउनुभएको छ । बिहीबार नै पूर्वका नौँ खेलाडी तथा तीन अफिसियललाई गाडीमा राखेर पठाइएको उहाँले जनाउनुभयो ।

पूर्व जाने खेलाडीमा दर्शन गुरुङ, विशाल राई बी, अनन्त तामाङ, मिक्चेन तामाङ, दिलेन लोक्ताङ, रन्जित धिमाल, पुजन उपर्काेटी, देवेन्द्र तामाङ र विकास खवास बिहीबार नै गृहजिल्ला प्रस्थान गर्नुभएको छ । 

राखेप प्रतिनिधि र खेलाडीको स्वाव 

लायन्स क्लब अफ काठमाडौं मेल्भिन जोन्सको पहलमा तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आयोजनामा बुधबार ब्याडमिन्टन खेलाडीसहित अन्य खेलका खेलाडी, पदाधिकारी र कर्मचारीको स्वाब संकलन गरिएको छ ।

प्रशिक्षणमा रहेका ब्याडमिन्टनका खेलाडी र प्रशिक्षक गरी २० खेलाडी, कबड्डीका १५ जना, भलिबल, कराते, तेक्वान्दो, टेबल टेनिस, बक्सिङ र एथ्लेटिक्सका खेलाडीसँगै नेपाल ओलम्पिक कमिटीका कर्मचारी, राखेप कर्मचारी, विभिन्न खेल संघका पदाधिकारीको राखेप हाताभित्र स्वाब संकलन गरिएको राखेप सदस्य, नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष तथा लायन्स क्लब अफ काठमाडौं मेल्भिन जोन्सका अध्यक्ष सुभास श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालसँगै भलिबलकी प्रतिभा माली, सलिना श्रेष्ठ र उषा भन्डारीलगायतले पीसीआर परीक्षणका लागि स्वाव संकलन गराउनुभएको हो । खेलाडी, राखेप पदाधिकारी तथा कर्मचारी, ओलम्पिक कमिटीका कर्मचारीसहित खेलकुद क्षेत्रका २०० जनाको स्वाब संकलन गरिएको लायन्स क्लब अफ काठमाडौं मेल्भिन जोन्सका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।


Views: 65