26th September | 2020 | Saturday | 9:23:32 PM

सन्दीपको बलिङ वरीयता खस्कियो

  POSTED ON : भदौ २५, २०७७ (१२:४० AM)

सन्दीपको बलिङ वरीयता खस्कियो

कठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी–२० बलिङ वरीयतामा सन्दीप एक स्थान खस्किनुभएको हो ।

नयाँ वरीयतामा सन्दीप ८०औँ स्थानमा रहनुभएको छ । उहाँले कुल ३८९ रेटिङ अंक पाउनुभएको छ । यसअघि, आइसिसीले सार्वजनिक गरेको वरीयतामा उहाँ ७९औँ स्थानमा रहनुभएको थियो । हाल क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्ने क्रममा उहाँ ट्रिनिडाड एण्ड टोबागोमा रहनुभएको छ । उहाँले उक्त प्रतियोगितामा ११ खेलमा १२ विकेट प्राप्त गर्नुभएको थियो ।

यस्तै, विश्व बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा रहनुभएको छ । दुवैजना हाल सिपिएल खेलिरहनुभएको छ । सिपिएलमा राशिदले बार्बाडोसबाट तथा मुजिबउरले जमैकाबाट खेल्नुभएको थियो । यस्तै, आइसिसीको बलिङ वरीयतामा अष्ट्रेलियाका एस्टन अगर तेस्रो, दक्षिण अफ्रिकाका ताब्रेज सामी चौंथो तथा अष्ट्रेलियाकै एडम जाम्पा पाँचौं स्थानमा रहनुभएको छ ।

यसैगरी, आइसिसीले जारी गरेको ब्याटिङ वरीयतामा नेपालका पूर्व–कप्तान पारस खड्का ७०औँ स्थानमा रहनुभएको छ । उहाँको ४०० रेटिङ अंक छ । इंग्ल्याण्डका डाविड मालन टी–२० ब्याटिङ वरीयताको शीर्ष स्थानमा रहनुभएको छ । पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा रहनुभएको छ । 


Views: 49