26th September | 2020 | Saturday | 9:29:37 PM

खेलाडीको खातामा तलब

  POSTED ON : भदौ २६, २०७७ (१२:५७ AM)

खेलाडीको खातामा तलब

काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले पैसा पठाएको एक हप्तापछि नेपाल क्रिकेट संघ (क्यान) ले अघिल्लो वर्षको खेलाडीको तलब उहाँहरूको खातामा पठाएको छ । खेलाडीहरूले सन् २०१९ को तलब पाउन सकेका थिएनन् । उक्त तलबको रकम उपलब्ध गराइदिन क्यानले आइसिसीलाई अनुरोध गरेको थियो । आइसिसीले पनि खेलाडीको हस्ताक्षरसहितको कागजात तथा अन्य प्रक्रिया पूरा गर्न क्यानलाई भनेको थियो । उक्त प्रक्रिया पूरा भएपछि गत हप्ता आइसिसीले क्यानको खातामा सम्पूर्ण खेलाडीको पैसा एकमुष्ट पठाएको थियो ।

खेलाडीहरूसँग सम्पर्क गर्दै सबैको खाता नम्बर लिन तथा आवश्यक प्रक्रिया पूरा गर्न केही समय लागे पनि अहिले सबैको खातामा पैसा पुगिसकेको क्यानका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार २२ खेलाडी र एक टेक्निकल एनालिष्टको खातामा पैसा पठाइसकिएको छ ।

अघिल्लो वर्षसम्म क्यान निलम्बनमा रहेकाले नेपाली क्रिकेटको व्यवस्थापन आइसिसी स्वयंले हेर्दै आएको थियो । त्यसैले यसवर्ष क्यानले प्रस्ताव गरेको मासिक १० हजार रुपैयाँ थप गरेर आइसिसीले पैसा पठाएको थियो । नेपाली खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा वर्गीकरण गरिएको छ । आइसिसीले पठाएको तलबअनुसार ‘ए’ ग्रेडका खेलाडीले मासिक ४५ हजार, ‘बी’ ग्रेडकाले ३५ हजार र ‘सी’ ग्रेडकाले २५ हजार रुपैयाँको दरले तलब पाउनेछन् ।

क्यानसँग २०१९ मा २१ खेलाडीसँग केन्द्रीय सम्झौता रहेको थियो । सम्झौतामा रहेका खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा विभाजन गरिएको थियो । वर्गीकरणअनुसार ‘ए’ श्रेणीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद् भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ ।

यस्तै, ‘बी’ श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन हुनुहुन्थ्यो । ‘सी’ श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनील धमला, सुशन भारी, प्रदीप ऐरी र विनोद भण्डारी हुनुहुन्छ ।

क्यानको निलम्बन फुकुवा भइसकेकाले अब भने नयाँ वर्गीकरणको काम क्यान आफैंले गर्ने कोषाध्यक्ष सिंहले बताउनुभयो । कोरोना भाइरसको महामारीका कारण बोर्ड बैठक बस्न नसकेकाले खेलाडीहरूको वर्गीकरणका कामसमेत अधुरै रहेको उहाँले जानकारी दिनुभयो ।


Views: 58