26th September | 2020 | Saturday | 9:31:09 PM

पहिलो रोजाइका गोलकिपर किरण

  POSTED ON : भदौ ३०, २०७७ (८:१५ AM)

पहिलो रोजाइका गोलकिपर किरण

काठमाडौं । सुरुवाती दिनमा किरण चेम्जोङ आफ्नो गाउँ धनकुटाको राजारानीमा स्ट्राइकर वा रक्षकको भूमिकामा रही फुटबल खेल्नुहुन्थ्यो । अग्लो कद भएका उहाँलाई एक दिन राष्ट्रिय टोलीमा सिनियर गोलकिपरको भूमिका दिइयो । अहिले त्यही भूमिकामा उहाँ नेपालको पहिलो रोजाइको गोलरक्षक हुनुहुन्छ ।

पहाडी गाउँ भए पनि राजारानीमा ठूलो फुटबल मैदान थियो । जहाँ सधैँ झँ किरणले स्थानीयहरू तथा सिनियरहरू खेलेको देख्नुहुन्थ्यो । विस्तारै किरणलाई पनि त्यही खेलसँगै माया बस्न थाल्यो । ‘आमालाई मैले फुटबलमा बढी ध्यान दिँदा पढाइ बिग्रने हो कि भन्ने पीर हुन्थ्यो । तर, पनि उहाँले कहिल्यै खेल्न जान रोक्नुभएन,’ किरण भन्नुहुन्छ, ‘फुटबल खेल्न म गाउँबाट बाहिर जाँदा मलाई उहाँले नै खर्च दिनुहुन्थ्यो ।’

गोलकिपरका रूपमा आफूलाई स्थानीय खेलमा परिचित गराइसकेपछि किरण जिल्लास्तरीय प्रतियोगिता खेल्न थाल्नुभयो । त्यही दौरान जिल्लास्तरीय १६ वर्षमुनिको फुटबल प्रतियोगिता खेल्न उहाँ पहिलोपल्ट काठमाडौं आउनुभएको हो ।

‘त्यहीबेला एन्फाले राष्ट्रिय यू–१६ टोलीका लागि खेलाडी पनि छानिरहेको थियो । उहाँको जिल्ला सेमिफाइनलमा रोकिए पनि सिनियरहरूको सल्लाहमा किरण यू–१६ छनोटमा सहभागिताका लागि पुग्नुभयो र छनोटमा पर्दै एन्फा एकेडेमीमा प्रवेश पाउनुभयो ।

एकेडेमीमा आफूलाई तिखार्दै गएपछि किरणले क्लब लेभलका फुटबलहहरू खेल्न थाल्नुभयो । त्यहीक्रममा सन् २००८ को एएफ्सी च्यालेन्ज कप छनोटका लागि उहाँलाई राष्ट्रिय टोलीमा बोलाइयो । कम्बोडियामा भएको उक्त प्रतियोगिताबाट नै राष्ट्रिय टोलीको गोलकिपर बन्नुभएका किरणलाई त्यसपछि कसैले चुनौती दिन सक्नुभएको छैन ।

मछिन्द्र क्लबबाट खेल्न सुरु गर्नुभएका किरणले नेपाली फुटबलका चर्चित क्लबहरू थ्री–स्टार, मनाङ मस्र्याङ्दीबाट खेलिसक्नु भएको छ । त्यसबाहेक उहाँले माल्दिभ्स र भारतबाट पनि व्यावसायिक फुटबल खेल्नुभएको छ ।

‘२०१६ मा सोलीडारिटी कप खेल्दै गर्दा माल्दिभ्सको टिसी स्पोर्टस क्लबका गोलकिपर प्रशिक्षकले मलाई मेरो खेल हेरिरहेका छौं भनेर म्यासेज पठाउनुभएको थियो’, आफ्नो पहिलो विदेशी क्लबसँगको सम्झौताबारे किरण भन्नुहुन्छ, ‘नेपालले उक्त प्रतियोगिता जितेपछि भने लगत्तै टिसी स्पोर्टसले मलाई अनुबन्ध ग¥यो ।’

माल्दिभ्सको टिसी स्पोर्टसपछि किरणलाई भारतको आइलिग क्लब मिनरोभा पञ्जाबले अनुबन्ध ग¥यो । २०१७–१८ मा पञ्जाबले आइलिगको उपाधि नै जितेको थियो । अहिले पनि किरण उक्त क्लबसँग आबद्ध हुनुहुन्छ ।

किरण आफ्नो सफलतामा पछाडि राम्रो मेन्टर र सिनियरहरूको हात रहेको बताउनुहुन्छ । ‘गाउँदेखि काठमाडौं आउँदै राष्ट्रिय टोलीमा परेको मेरो यात्रा सुन्नमा त सजिलो लाग्छ तर त्यसभित्र धेरै मिहिनेत र समर्पण लुकेको छ’ उहाँ भन्नुहुन्छ,’ म मेरा सिनियरहरू, एन्फा पदाधिकारीहरूलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूकै सल्लाह सुझावलाई अनुशरण गर्दै म यहाँसम्म आइपुगेको हुँ ।’ किरणले अब नेपाली फुटबललाई अर्को लेभलमा लैजानुपर्ने र त्यसका लागि सरकार, निजी क्षेत्र र एन्फाको सहकार्य हुनु आवश्यक रहेको बताउनुभयो ।

२०१२ मा भएको नेहरु कपमा भारतविरुद्धको खेलमा उहाँ म्यान अफ द म्याच चुनिनुभएको थियो । त्यसबेला उहाँको प्रदर्शनको चर्चा भारतीय अखबारहरूमा भएको थियो । उहाँ नेपाल र भारतको फुटबलमा गुणात्मक रूपमा खासै फरक नभएको बताउनुहुन्छ । तर, भारतमा फुटबलमा लगानी धेरै भएका कारण त्यहाँ फुटबलले छिटो प्रगति गरेको बताउनुहुन्छ ।

स्ट्राइकल भूमिकामा खेल्नुहुने उहाँ गोलकिपर बन्दा कस्तो लागेको छ ? 

त्यसको जवाफमा उहाँ भन्नुहुन्छ, ‘जब सुरुमा मानिसहरूले हारपछि सबै दोष गोलकिपरको टाउकोमा हाल्नुहुन्थ्यो त्यसबेला मैले अरूको भनेको नमानेर स्ट्राइकर वा अन्य कुनै भूमिकामा नै खेले हुन्थ्यो जस्तो लाग्थ्यो । तर, दिनहरू बित्दै गएपछि मैले यही भूमिका मेरा लागि उपयुक्त हो भनेर ग्रहण गरँे ।’


Views: 53