26th September | 2020 | Saturday | 10:19:50 PM

रोकिएको छैन क्रिकेट रंगशालाको काम

  POSTED ON : भदौ ३१, २०७७ (९:०८ AM)

रोकिएको छैन क्रिकेट रंगशालाको काम

चितवन । निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम जारी रहेको छ । कार्यरत मजदुरलाई रंगशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो । ०७६ चैत ९ गतेबाट रोकिएको काम २० वैशाखबाट पुनः थालिएको थियो । भरतपुर महानगरपालिकासँगको सहकार्यमा धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माण गरिरहेको छ । हाल रंगशालामा १५० मजदुरले काम गरिरहेका छन् ।

निर्माणाधीन रंगशालाका निमित्त परियोजना व्यवस्थापक मणी दासका अनुसार रंगशाला प्याराफिटका लागि पिल्लर उठाउने क्रम जारी छ । यसका लागि पिसिसी गर्ने काम लकडाउनअघि नै सकिएको थियो । अहिले पिल्लरको काम भइरहेको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चारवटा ब्लकमा रहने प्याराफिटको ‘ए’ र ‘बी’ को काम भइरहेको छ ।

तीमध्ये ‘ए’ प्याराफिटमा १०५ वटा पिल्लर उठाएर ढलानको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । ‘ए’ प्याराफिटमा ११० वटा पिल्लर रहनेछन् । त्यसैगरी, ‘बी’ प्याराफिटमा हुने ११० पिल्लरमध्ये १९ वटाको जग हालिएको उहाँले जानकारी दिनुभयो ।

एक लाइनमा पाँचवटा पिल्लर रहनेछन् । प्याराफिटको पहिलो स्टेप डिपिसी लेभलबाट एक मिटर २० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने पाँचौँ पिल्लर २१ मिटर उचाइको हुनेछ । दुई प्याराफिटमा १५÷१५ जनाको हजार क्षमता हुनेछ । मनसुन रोकिएलगत्तै भुइँको काम गर्ने तयारी गरिएको छ । मौसमका कारण पानी जमेकाले पिल्लर उठाउनका लागि खनिएका खाल्डाको पानी फाल्न दैनिक २० वटा पम्प प्रयोग गरिएको छ । यस वर्ष धेरै पानी परेकाले काममा कठिनाइ परेको उहाँले जनाउनुभयो ।

रंगशाला निर्माणमा गत साउन मसान्तसम्म २३ करोड ७४ लाख ६४ हजार खर्च भइसकेको छ । परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म १८ करोड ५३ लाख ४२ हजार मात्र संकलन भएको छ ।

गत असार मसान्तसम्म ९९ लाख ६२ हजार बराबरको जिन्सी सामान सहयोग प्राप्त भएको थियो । काम भइरहेकाले पाँच करोडभन्दा बढीको उधारोमा सामग्री आएको उहाँले जानकारी दिनुभयो ।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले निषेधाज्ञामा प्राविधिक र मजदुरहरू भित्रै राखेर काम भइरहेको जानकारी दिनुभयो । अहिलेको विषम परिस्थितिका कारण थप सहयोग संकलन केही घटेको जनाउँदै उहाँले यसअघि बोलकबल गरिएका निजी र सरकारी निकायबाट रकम उपलब्ध भएमा समयमा काम सम्पन्न गर्न सकिने जानकारी दिनुभयो ।

अगामी १८ महिनाभित्र सम्पन्न गर्ने गरी रंगशाला निर्माणको काम भइरहेको छ । निषेधाज्ञाका कारण निर्माण सामग्री सहज नहुँदा र पानी परिरहेकाले कामले सोचेजति गति लिन सकिरहेको छैन । रंगशाला निर्माणका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्ने जनाएको भए पनि हालसम्म रकम प्राप्त नभएको जनाइएको छ ।

सबै सकारात्मक भएकाले छिट्टै रकम आउने र कामले गति लिने उहाँको विश्वास छ । भरतपुर महानगरपालिकाको सक्रियतामा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपभोग गरेको २२ बिघा जग्गा दिलाएर रंगशाला निर्माण सुरु गरिएको हो ।

भरतपुर महानगरपालिका १५ रामपुरमा विश्वविद्यालयले जग्गा दिएबापत महानगरपालिकाले विश्वविद्यालयलाई अन्य क्षेत्रमा जग्गा दिएको छ । महानगर प्रमुख रेणु दाहालले फाउण्डेसनसँग सहकार्य गरेर भइरहेको रंगशाला निर्माणको कामलाई निरन्तरता दिन महानगर लागिपरेको जानकारी दिनुभयो ।

महानगरले यस वर्ष चार करोड र बागमती प्रदेशले तीन करोड विनियोजन गरेको छ । महानगरले गत वर्ष रकम विनियोजन गरेको भए पनि प्राविधिक कारणले निकासा गर्न कठिन भएको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा महानगरपालिकालाई चिनाउने यो योजना यहाँको महत्वपूर्ण परियोजना भएको जनाउँदै उहाँले सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

फाउण्डेसनले नेपालमा क्रिकेट रंगशाला बनाउने बताएसँगै महानगरपालिकाले भरतपुरमा बनाउन अनुरोध गरेर जग्गाको व्यवस्था गरी अन्य सहयोग गरेको थियो । वि.सं. २०७५ असोज १९ गते भरतपुर महानगरपालिका, त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयका बीचमा जग्गाको विषयमा त्रिपक्षीय सम्झौता गरी काम अघि बढेको हो ।


Views: 36