21st October | 2020 | Wednesday | 8:22:59 AM

दिल्लीलाई आइपिएल जिताउने सन्दीपको लक्ष्य

  POSTED ON : आश्विन ९, २०७७ (८:४० AM)

दिल्लीलाई आइपिएल जिताउने सन्दीपको लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सलाई इण्डियन प्रिमियर लिग (आइपीएल) २०२० को उपाधि जिताउने लक्ष्य रहेको बताउनुभएको छ । सन्दीपले दिल्ली क्यापिटल्स टोलीको फेसबुकमा गरिएको कुरकानीमा उहाँले टोलीका लागि उपाधि जित्ने लक्ष्य रहेको बताउनुभएको हो । ‘दिल्ली मेरो मुटुमा छ । मलाई आफ्नो घर जस्तो लाग्छ । दिल्लीको अभ्यास र टोलीमा फर्किँदा खुशी छु । दिल्ली र नेपाली समर्थकलाई म र मेरो टिमलाई समर्थन गर्न आग्रह गर्दछु ।’ सन्दीपले भिडियो कुराकानीमा भन्नुभयो ।

सन्दीपले कोरोना महामारीमा विश्वभरका मानिसहरूलाई तनाव दिएको भन्दै आइपीएल सुरु हुँदा यसले धेरैलाई खुशी पारेको बताउनुभयो । ‘कोरोना महामारीले सबै तिर निराश छाएका बेला आइपीएल हुँदा यसले सबैको अनुहारमा खुशी ल्याएको छ,’ उहाँले भन्नुभयो, ‘आइपिएल हुने भएपछि म आफैं पनि उत्साही थिए । यसले लाखौं क्रिकेट समर्थकहरूलाई आशा, उत्साह जगाएको छ ।’

सन्दीपले आफ्ना प्रशिक्षक रिकी पोन्टिङको खुलेर प्रसंशा गर्नुभयो । उहाँले रिकीजस्तो लेजेन्ड्बाट सिक्न पाउनु आफ्ना लागि ठूलो कुरो भएको बताउनुभयो । रिकीले सबै खेलाडीको उत्तिकै ख्याल राख्ने सन्दीपले कुराकानीमा बताउनुभयो । 

वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सिपिएल)मा सहभागिता जनाएर गत अघिल्लो हप्ताको सोमबारै सन्दीप यूएई पुगिसक्नुभएको थियो । त्यसपछि ६ दिन क्वारेन्टिन बिताएर उहाँ शनिबारदेखि प्रशिक्षणमा फर्कनुभएको हो । तर लगत्तै आइतबार दिल्ली क्यापिटल्सले पहिलो खेलमा किंग्स इलेभेन पञ्जावको सामना गर्दा भने उहाँले मौका पाउनुभएन ।

सन्दीप तेस्रो सिजनका लागि आइपिएल खेल्दै हुनुहुन्छ । सन् २०१८ को सिजनमा पहिलोपल्ट दिल्लीले सन्दीपलाई उहाँको न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । पहिलो सिजनमा दिल्ली प्लेअफमा नै पुग्न सकेन । प्लेअफबाट बाहिरिएपछि बेन्चमा रहेका खेलाडीहरूले मौका पाउने क्रममा सन्दीपले पहिलो सिजनमा तीन खेल खेल्न पाउनुभएको थियो । ती तीन खेलमा ५ विकेट लिँदै सनसनी मच्चाएयता सन्दीप नेपालका ग्लोबल स्टार बनिसक्नुभएको छ ।

आइपिएलपछि सन्दीपले लगभग विश्वका सबै फ्रेन्चाइजी क्रिकेट खेल्नुभयो । उहाँले बंगलादेश प्रिमियर लिग (बिपिएल), सिपिए, बिग–बास, पाकिस्तान सुपर लिग (पिसिएल), अफगान प्रिमियर लिग, टी–१०, ग्लोबल क्यानडा टी–२० खेल्दै आफूलाई तिखार्दै लानुभयो ।

परिणाम स्वरूप गतवर्ष उहाँले दिल्लीबाट ६ खेलमा मौका पाउनुभयो । यस सिजनमा ८ विकेट लिँदै उहाँले आफ्नो राम्रो प्रभाव छाड्नुभएको छ । दुवै सिजनमा गरी १३ विकेट लिइसक्नुभएका सन्दीप पुनः यसपटक घुमिफिरी आइपिएल खेल्न आइपुग्नु भएको छ । तर यसपटक भने उहाँलाई टोलीमा अवसरसँगै चुनौती दुवै छ ।

सन्दीपका लागि मुख्य अवसर उहाँको लय र विकेट हुन् । भर्खरै सीपीएल खेलेर आउनुभएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । उहाँको टोली जमैका तलावाजलाई सेमिफाइनलमा पु¥याउन उहाँले ११ खेलमा १२ विकेट लिनुभयो ।


Views: 75