31st October | 2020 | Saturday | 10:48:37 PM

मोहमडनको जितमा अभिषेक नायक

  POSTED ON : आश्विन २७, २०७७ (८:४५ AM)

मोहमडनको जितमा अभिषेक नायक

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल फरवार्ड अभिषेक रिजालले उत्कृष्ट प्रदर्शन गरेपछि भारतको आईलिग छनोटमा मोहमडन स्पोर्टिङ क्लबले लगातार दोस्रो जित हात पारेको छ । कोलकत्तामा आइतबार भएको खेलमा अभिषेकले दुई गोल गर्नुभएपछि मोहमडनले अहमदावाद राक्युट एकेडेमी (एआरए) एफसीलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । आई लिगमा मोहमडनको यो लगातार दोस्रो जित हो । दोस्रो जितसँगै मोहमडन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा अन्तिम १० मिनेट मैदान प्रवेश पाउनुभएका अभिषेकले यस खेलमा सुरुवातमै मौका पाउनुभएको थियो । यो उहाँको लगातार दोस्रो खेल पनि हो । अभिषेकसँगै मोहमडनका विलिस प्लाजा र एसके फयाजले एक–एक गोल गर्नुभयो । यस्तै मोहमडनले एक गोल आत्मघाती उपहार पाएको थियो । मोहमडनका रक्षक सफिउल रहमानले आत्मघाती गोल गरेपछि खेल ४–१ को नतिजामा टुंग्गिएको थियो ।

अघिल्लो खेलमध्ये मोहमडनका प्रशिक्षक योन लोले टोलीमा ६ परिवर्तन गर्नुभएको थियो । दोस्रो मिनेटमै कर्नरबाट आएको बल सिधैं विलिस प्लाजाकोमा आएको थियो । तर उहाँले बललाई पोष्टको दिशा दिन नसक्दा मोहमडन अग्रता लिन चुक्यो ।

दोस्रो पटक भने प्लाजा चुक्नु भएन । १३औं मिनेटमा भानलालबी चंगन्टेको पासमा गोल गर्दै उहाँले खेलमा मोहमडनलाई अग्रता दिलाउनुभयो । त्यसको दुई मिनेटपछि नै एआरए एफसीका इपरोटिक दासले गोलको सुन्दर मौका पाउनुभएको थियो । तर उहाँको प्रहारलाई मोहमडका गोलरक्षकले विफल पार्नुभयो । २०औं मिनेटमा नेपाली फरवार्ड अभिषेकले गोल गर्दै मोहमडनको अग्रता दोब्बर पार्नुभयो । पहिलो गोलमा सहायकको भूमिका खेल्नुभएका चंगन्टेको पासमा नै पोष्ट नजिक पाएको बललाई अभिषेकले गोलमा परिणत गर्नुभएको थियो ।

यस्तै पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा अभिषेकले पुनः अर्को गोल गर्नुभयो । मैदानको बायाँ क्षेत्रमा पाएको बललाई डी बक्सभित्र लैजादै सुन्दर गोल गर्नुभएको थियो । योसँगै पहिलो हाफमा मोहमडनले ३–० को अग्रता बनायो । यद्यपि मोहमडनले पहिलो दश मौका बनाए पनि तीन गोलमात्रै सफल भएको थियो । अर्कातिर एआरए एफसीले दुई सुन्दर मौका पाए पनि गोल गर्न सकेन ।

दोस्रो हाफमा अहमदावादको टोली एआरएले दुई परिवर्तन गरेको थियो । लगत्तै टोलीका नाइजेरियन फरवार्ड स्टान्ले इजीले पोष्टमा सशक्त प्रहार पनि गर्नुभयो । तर मोहमडनका गोलरक्षक पियन्त सिंहले उत्कृष्ट बचाउ गर्दा एआरएले अग्रता घटाउन सकेन । ५४औं मिनेटमा रहमानले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेपछि खेल मोहमडनको अग्रता ३–१ मा छोट्टियो । त्यसपछि खेलको ८८औं मिनेटमा फयाजले गोल गर्दै मोहमडनलाई ४–१ को जित दिलाउनुभयो ।

यस्तै अर्कातिर एआरए एफसीबाट नेपालका अर्का खेलाडी राजेश परियारले खेल्नुभएको थियो । उहाँलाई दोस्रो हाफमा डेब्यु गराइएको थियो । यद्यपि उहाँको प्रदर्शन स्मरणीय रहेन । नेपालका यी दुवै टोलीलाई अघिल्लो महिना यी भारतीय क्लबले अनुबन्ध गरेका थिए । जितसँगै मोहम्मेदन शीर्ष स्थानमा उक्लिएको छ । २ खेलमा मोहम्मेदनले ६ अंक छ । एआरएले भने हारबाट सिजनको सुरुवात गरेको छ ।


Views: 137