29th October | 2020 | Thursday | 12:00:53 AM

नेपाल क्रिकेट संघको साधारणसभा स्थगित

  POSTED ON : आश्विन २८, २०७७ (८:४३ AM)

नेपाल क्रिकेट संघको साधारणसभा स्थगित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा स्थगित भएको छ । संघले यही असोज २८ र २९ गते वार्षिक साधारणसभा आयोजनाको तयारी गरेको थियो । अध्यक्ष र सचिव कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेकाले तत्काल साधारणसभा आयोजना सम्भव नरहेको क्यानले जनाएको छ । 

सेल्फ आइसोलेसनमा रहनुभएका अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै सोमबार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि साधारणसभा स्थगित गरिएको जनाउनुभएको छ । चितवनको सौराहामा गत असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारणसभा असोज २८ र २९ गते गर्ने निर्णय गरेको थियो । सोही बैठकमा सहभागी भएर काठमाडौं आएपछि अध्यक्ष चन्द र सचिव अशोकनाथ प्याकुरेललाई संक्रमण देखिएको छ ।

चन्द हाल होम आइसोलेसन र प्याकुरेल अस्पतालको आइसोलेसनमा उपचाररत हुनुहुन्छ । क्यानले दुवैको अवस्था सामान्य रहेको तथा संक्रमणमुक्त भइनसकेको जनाएको छ । यी दुई पदाधिकारीबाहेक केही केन्द्रीय कार्यसमिति सदस्यहरू पनि कोरोना संक्रमण देखिएको क्यानले जनाएको छ । तर अन्य सदस्यहरूबारे क्यानले केही खुलाएको छैन ।

चितवनको सौराहामा बसेको क्यानको बोर्ड बैठकले यस वर्षका लागि महिला र पुरुष खेलाडीहरूको केन्द्रीय सम्झौता गर्दै खेलाडी वर्गीकरण गरेको थियो । तर खेलाडी वर्गीकरण पारदर्शी र न्यायोचित नभएको भन्दै आलोचना भएपछि क्यानले यसै वार्षिक साधारणसभामा खेलाडी वर्गीकरणलाई पुनर्विचार गर्ने निर्णय गरेको थियो ।

तर कोरोना संक्रमणका कारण वार्षिक साधारणसभा नै स्थगित भएपछि उक्त कार्य तत्काल अघि नबढ्ने भएको छ । अघिल्लो वर्ष असोज ११ गते निर्वाचनमार्फत क्यानको नयाँ कार्यसमिति आएको थियो । त्यसपछि क्यानको साधारणसभा भएको छैन । 


Views: 45

सम्बन्धित सामग्री:

‘खेलाडीको पीडा बुझेको छु’

: कार्तिक ६, २०७७ (९:०१ AM)