28th October | 2020 | Wednesday | 11:05:44 PM

सन्दीपको कप्तानी सम्हाल्ने धोको

  POSTED ON : कार्तिक १, २०७७ (१०:०० AM)

सन्दीपको कप्तानी सम्हाल्ने धोको

काठमाडौं । नेपाली क्रिकेटका स्टार सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बन्ने सपना साच्नुभएको छ । हाल दिल्ली क्यापिटल्सबाट इण्डियन प्रिमियर लिग (आइपिएल) मा व्यस्त सन्दीपले नेपाली टोलीको नेतृत्व गर्ने सपना सार्वजनिक रूपमै सार्वजनिक गर्नुभएको हो ।

राष्ट्रिय टोलीको कप्तान बन्ने अवसर आएपछि त्यसलाई स्वीकार्नु हुन्छ ? भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘अवश्य म त्यो अवसर स्वीकार्नेछु । कप्तानी गर्न मन पराउँछु । कप्तानीको अवसर पाए भने नेपाल क्रिकेटलाई अझै माथि लैजानेछु । नेपाली खेलाडीको पोटेन्सिएल एकदमै अविश्वसनीय छ । ट्यालेन्टलाई एक्सोजर कसरी दिने ? त्यसको पहल कसरी गर्ने ? भन्ने कुरामा ध्यान दिनेछु ।’

सन्दीपले कप्तानको अवसर पाएमा आफूले दिने प्राथमिकता समेत सुनाउनुभयो । तर तत्कालै सन्दीपले कप्तानी पाउने सम्भावना न्यूनछ । गत वर्षमात्रै १० वर्ष राष्ट्रिय टोलीको नेतृत्व गर्नुभएका पारस खड्काले कप्तानी छोड्ने घोषणा गर्नुभएपछि तत्कालीन उपकप्तान ज्ञानेन्द्र मल्लले उक्त स्थान ग्रहण गर्नुभएको थियो ।

ज्ञानेन्द्र कप्तानी नियुक्त हुनुअघि सन्दीप पनि कप्तान बन्नसक्ने हल्ला चलेको थियो । यद्यपि तत्कालै एसिया कप खेल्नुपर्ने भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान ज्ञानेन्द्र मल्ललाई नेतृत्वको अवसर दियो । पारसको अनुपस्थितिमा ज्ञानेन्द्रले टोली सम्हालेको अनुभव भएकाले पनि उहाँलाई कप्तानीको अवसर दिइएको थियो ।

लामो समय टोलीबाट खेलिसक्नु भएकाले बढीमा एक दुई वर्षमात्रै ज्ञानेन्द्र मल्ल नेपाली टोलीमा रहनुहुनेछ । त्यसपछि पुनः टोलीको नेतृत्वका लागि नयाँ व्यक्तिको खोजी हुनेछ । त्यसका लागि आफू तयार भएको सन्दीप बताउनुहुन्छ । ‘त्यतिसम्म मैले सबैको विश्वास जित्दै जानुपर्छ’, उहाँले भन्नुभयो ।

यसअघि सन्दीपसँग नेपाली उमेर समूहको टोलीको नेतृत्व गरेको अनुभव छ । सन्दीपले १९ वर्ष मुनिको टोलीमा कप्तानीको भूमिका खेल्नुभएको छ । तर, उहाँको कप्तानीमा टोलीले राम्रो प्रदर्शन गर्न नसकेपछि तत्कालीन टोलीका प्रशिक्षक विनोद दासले सन्दीपको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई कप्तानी सुम्पनु भएको थियो । ऐरी हाल राष्ट्रिय टोलीको उपकप्तानसमेत हुनुहुन्छ । त्यसैले पनि सन्दीपको कप्तान बन्ने सपना चुनौतीपूर्ण छ ।

अन्तिम सिजनको दबाब

तीन वर्षअघि आइपिएलले नै सन्दीपलाई पहिलोपल्ट फ्रेन्चाइजी क्रिकेटसँग साक्षात्कार गराएको थियो । त्यसबेला दिल्लीले उहाँलाई तीन वर्षका लागि अनुबन्ध गरेको थियो । यो वर्ष सन्दीपको आइपिएलमा अन्तिम वर्ष हो ।

तर टोलीले आठ खेल खेलिसक्दा सन्दीपले मौका पाउनुभएको छैन । यस सिजनमा मौका पाएर राम्रो प्रदर्शन देखाउन नसके अर्को सिजन उहाँको आइपिएल भविष्य धरापमा पर्नसक्छ । त्यसबारे जानकार सन्दीप भने आफू दबाबमा नरहेको बताउनुहुन्छ ।

‘यो अन्तिम सिजन हो मैले राम्रो गर्नुपर्छ भन्ने दबाब लिएको छैन । यसलाई मैले एउटा अर्को सिजनका रूपमा मात्रै लिएको छु,’ उहाँ भन्नुहुन्छ, ‘मेरो उद्देश्य पाएको अवसरलाई सदुपयोग गर्दै उच्च प्रदर्शन गर्नेछ । एकचोटी आफूलाई पुनः प्रमाणित गर्नुछ । यो सिजनमा अझै राम्रो ग¥यो भने अर्को सिजनमाम पनि यही टोलीले पनि निरन्तरता दिन सक्छ । या अन्य टोलीले लिन सक्लान ।’

सचिनलाई हेर्दा हेर्दै क्रिकेट

सन्दीप आफूले सानो हुँदा टेलिभिजनमा सचिन तेन्दुल्करलाई खेलेको हेर्दा हेर्दै क्रिकेटमा आकर्षित भएको बताउनुहुन्छ । आइपिएलमा पनि उहाँसँग खेल्न पाएको भए खुशी हुने बताउँदै सन्दीपले उहाँले सन्न्यास लिइसकेकाले त्यो सम्भव नभएको बताउनुभयो । ‘सचिन तेन्दुल्करबाट प्रभावित भएको छु । उहाँलाई टिभीमा हेर्दाहेर्दै नै क्रिकेट लागेको हुँ । सचिनले रन स्कोर गरेको हेर्दा मज्जा बेग्लै हुन्थ्यो,’ सन्दीप सम्झनुहुन्छ ।

पाँच वर्षअघि चितवनमा एकेडेमीमा अभ्यास गरिरहेका बेला तत्कालीन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपको खेल हेर्नुभएको थियो । सन्दीपको बलिङबाट प्रभावित हुँदै पुबुदुले नै उहाँलाई राष्ट्रिय टोलीमा मौका दिनुभएको थियो । त्यसपछि सन्दीपले पछाडि फर्केर हेर्नुपरेको छैन ।

सन्दीप सुरुमा रहरै रहरमा क्रिकेट खेल्न थालेपछि अहिले प्यासन बनिसकेको बताउनुहुन्छ । उहाँले राष्ट्रिय टोलीबाट खेल्नका लागि स्मार्ट मिहिनेत गर्नुपर्ने सुझाव दिनुभयो ।

‘सुरुमा रहरका लागि खेलिन्थ्यो । त्यसपछि प्यासन भने अहिले व्यावसायिक रूपमा खेल्दैछु । व्यावसायिक रूपमा खेल्न थालेको पाँच वर्ष भयो,’ सन्दीप भन्नुहुन्छ, ‘राष्ट्रिय टोलीबाट खेल्न चाहने जसले पनि अथक मिहिनेत त गर्नुपर्छ नै । त्यसबाहेक आफ्नो स्किल बढाउन स्मार्ट पनि हुनुपर्छ । हरेक दिन प्रदर्शनमा तलमाथि हुन्छ तर आफूलाई कन्ट्रोल गर्दै प्रदर्शन सुधार्दै जानुपर्छ ।’

घरेलु संरचना बलियो हुनुपर्छ  

सन्दीपले नेपाली क्रिकेटलाई अझै बलियो बनाउन घरेलु क्रिकेटको संचरना ध्यान दिनुपर्ने बताउनुहुन्छ । उहाँले तीन वर्ष निलम्बनपछि नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा भएकाले अब अझै राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

‘क्यान आएको छ । अब पहिलेका गल्ती दोहो¥याउनु भएन । घरेलु संरचना बलियो बनाउनुप¥यो । खेल बढीभन्दा बढी हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘लामो फम्र्याटको क्रिकेट बढाउनुपर्छ र स्थिर टिम बनाएर त्यसलाई अघि बढाउन जरूरी छ । लगातार टोलीमा परिवर्तन गर्नुभन्दा खेलाडीलाई बढीभन्दा बढी खेल मौका दिएर प्रमाणित गर्ने मौका दिनुपर्छ ।’

उहाँले अहिलेसम्म खेलाडीहरू खेलेरै बाच्ने अवस्था नभएकाले क्यानले त्यो अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो । जब खेलाडी आर्थिक रूपमा ढुक्क हुन्छन् तबमात्रै उहाँहरू मानसिक रूपमा बलियो हुने भन्दै सन्दीपले यस कुरामा क्यानले ध्यान पु¥याउनुपर्ने सुझाव दिनुभयो ।


Views: 44

सम्बन्धित सामग्री:

‘खेलाडीको पीडा बुझेको छु’

: कार्तिक ६, २०७७ (९:०१ AM)