30th November | 2020 | Monday | 5:11:40 AM

‘खेलाडीको पीडा बुझेको छु’

  POSTED ON : कार्तिक ६, २०७७ (९:०१ AM)

‘खेलाडीको पीडा बुझेको छु’

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताउनुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्ना उपाध्यक्ष खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएको अवसरमा मंगलबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा खड्काले सो कुरा बताउनुभएको हो ।

‘म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ । देशको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेको छु । त्यसैले खेलाडीको पीडा बारे मलाई राम्रोसँग थाहा छ ।’ राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत रहेका सदस्य खड्काले भन्नुभयो, ‘खेलाडीको पीडालाई सही ठाउँमा राख्न म हरदम प्रयासरत रहनेछु । सबैको साथ र सहयोग पाएमात्र त्यो सम्भव छ ।’

खड्काले खेलाडीको भविष्य कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषय आफ्नो प्राथमिकता रहेको बताउँदै सदस्यमा नियुक्त गरी आफू संलग्न खेलक्षेत्रमा केही गर्ने अवसर दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभयो । 

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खड्को नियुक्तिले सिंगो खेलाडी जगतले गर्वको अनुभूति गरेको बताउँदै लामो सयमदेखि खेलकुद क्षेत्रमा योगदान पु¥याएको व्यक्तिलाई सदस्यमा मनोनित गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो । उहाँले अब गठन हुने राखेपको कार्यकारी समितिमा खड्कालाई पनि अवसर दिएर खेलाडीप्रति न्याय गर्न सरकारसँग अनुरोध गर्नुभयो । खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टले खड्कालाई सदस्यमा नियुक्त गरेकोमा खेलाडी संघमात्र नभई सारा नेपाली खेलाडीलाई खुशी तुल्याएको धारणा व्यक्त गर्नुभयो ।

खड्कालाई गत असोज २९ गतेको मन्त्रिपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो । खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितमा नेपालको तर्फबाट सर्वाधिक गोलकर्तामध्येका एक हुनुहुन्छ । खड्काले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गर्नुभएको छ । त्यति नै गोल निराजन रायमाझीको नाममा पनि छ । खड्का नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पूर्वप्रशिक्षक हुनुहुन्छ । नेपालमै गत मंसिर १५ देखि २४ गतेसम्म भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि खड्काले प्रशिक्षकबाट राजीनामा दिनुभएको थियो ।


Views: 62