3rd December | 2020 | Thursday | 3:49:59 AM

मुम्बई इण्डियन्स : आइपीएलको सुपरपावर

एजेन्सी   POSTED ON : कार्तिक २७, २०७७ (८:४७ AM)

मुम्बई इण्डियन्स : आइपीएलको सुपरपावर

दुबई, वर्षभित्र पाँचवटा उपाधि उचाल्दै मुम्बई इण्डियन्सले आफूलाई इण्डियन प्रिमियर लिग (आइपीएल) को सुपर पावर भएको पुष्टि गरेको छ । मंगलबार राति भएको यस सिजनको फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गर्दै मुम्बईले पाँचौंपल्ट आइपीएलको उपाधि जितेको हो ।

गत वर्ष फाइनलमा चेन्नाई सुपरकिंग्सलाई पराजित गरेको मुम्बईले लगातार दोस्रोपल्ट उपाधिसमेत हात पारेको हो । २००८ मा आइपीएल सुरु भए पनि २०१३ मा आएरमात्रै उसले पहिलो उपाधिको स्वाद चाख्न पाएको थियो । त्यसपछि बितेका आठवर्षमा उसले पाँचौं उपाधिमाथि कब्जा जमायो ।

यसअघि मुम्बईले २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । मुम्बईपछि सर्वाधिक आइपीएल उपाधि जित्ने अर्को टोली चेन्नाई हो । उसले तीनपटक उपाधि जितेको छ । खेलपछि कप्तान रोहित शर्माले आफूहरूले जितको बानी बसाल्न चाहेको बताउनुभयो । ‘प्रतियोगिता अघि हामीले जितको बानी बसाल्न चाहेको बताएका थियौं । खेलाडीहरूको त्यही बानीको मद्धतमा उपाधि हासिल भयो’, उहाँले भन्नुभयो ।

फाइनलको कहानी

यस सिजनमा मुम्बईको सुरुवात भने राम्रो थिएन । पहिलो खेलमै चेन्नाईले उसलाई पाँच विकेटले पराजित गरेको थियो । तर त्यसपछि भने मुम्बईले पछि फर्केर हेर्नुपरेन । लिग चरणमा मुम्बईले पाँच खेल गुमाएको थियो । जसमा दुई खेल सुपर ओभरमा पुगेको थियो ।

प्रतियोगितामा दोस्रो स्थानमा रहेको दिल्लीलाई मुम्बईले चौथोपटक हरायो । दुई पटक लिग राउण्डमा, एकपटक क्वालिफायर र एक पटक फाइनलमा । फाइनलमा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले आठ बल बाँकी रहँदै भेट्टाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ६८ रन बनाउनुभयो । यस्तै इसान किसनले ३३ रन जोड्नुभयो । तीन विकेट लिनुभएका ट्रेन्ट बोल्ट म्यान अफ द म्याच चुनिनुभयो ।

रोहितले क्विन्टन डी ककका साथ मिलेर पहिलो विकेटका लागि ४५ रन जोड्नुभयो । डिकक पाँचौं ओभरमा मार्कस स्टोइनिसको बलमा आउट हुनुभयो । उहाँले २० रनमात्रै जोड्न सक्नुभयो ।

यसपछि रोहितले सूर्यकुमार यादवसँग मिलेर ४५ रनको साझेदारी गर्नुभयो । सुर्यकुमार यादव ११औं ओभरमा १९ रन बनाएर खेलिरहँदा रनआउट हुनुभयो । तर रोहित क्रिजमा जमिरहनुभयो । अर्को ओभरमा कासिगो राबाडालाई चौका प्रहार गर्दै ३६ बलमा उहाँले अर्धशतक पूरा गर्नुभयो ।

१७औं ओभरमा रोहितलाई एनरिक नोर्कियाले पवेलियन फर्काउनुभएको थियो । त्यसपछि क्रिजमा आउनुभएका किरण पोलार्डले नौ रन र हार्दिक पाण्ड्याले तीन रनमात्रै बनाउन सक्नुभयो । तर, किसन इसानले नटआउट ३३ रनको पारी खेल्दै मुम्बईलाई जित दिलाउनुभयो । मुम्बईका लागि विजयी रन भने क्रुनाल पाण्डेको ब्याटबाट निस्केको थियो ।

त्यसअघि दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५६ रनको मध्यम स्कोर बनाएको थियो । उसका कप्तान श्रेøयस ऐरले नटआउट ६५ र ऋषभ पन्तले ५६ रन जोड्नुभयो । यी दुई खेलाडीले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरेपछि टोलीका लागि जित स्कोर खडा गर्न सक्नुभएन ।

टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीको सुरुवात राम्रो थिएन । दिल्लीले आफ्ना पहिलो तीन विकेट २२ रनमै गुमाएको थियो । ओपनर शिखर धवन १५, अजिंक्ये रहाणे दुई रनमै आउट हुनुभयो भने मार्कस स्टोइनिसले खाता नै खोल्न सक्नुभएन ।

दिल्लीका लागि अक्षर पटेलले नौं तथा सिमरन हेटमायरले पाँच रन बनाउनुभयो । मुम्बईका बोल्ट सबैभन्दा सफल बलर रहनुभयो । उहाँले चार ओभरमा तीस रन दिएर तीन तथा नाथन कुल्टर नाइले दुई विकेट लिनुभयो ।

पुरस्कार कसले कति पाए ?

आइपीएल फाइनलपछि पुरस्कारको वर्षा भएको थियो । विजेता मुम्बई इण्डियन्सले २० करोड रुपैयाँ भारतीय रुपैयाँ हात पा¥यो । उपविजेता बनेको दिल्लीले १२.५ करोड भारतीय रुपैयाँ पुरस्कार पायो ।

राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चर प्रतियोगिताको मोष्ट भ्यालुवल खेलाडी घोषित हुनुभयो । राजस्थान आइपएीलमा लिग चरणबाटै बाहिरिएपनि आर्चरले १४ खेलमा २० विकेट लिनुभएको थियो । ११३ रनसमेत जोड्नुभएका उहाँले १० लाख भारतीय रुपैयाँ हात पार्नुभयो ।

यस्तै सर्वाधिक रन जोड्दै पन्जाबका कप्तान केएल राहुलले ओरेन्ज क्याप जित्नुभयो । पञ्जाव लिग चरणबाटै बाहिरिए पनि राहुलले १४ खेलमा ६७० रन बनाउँदै ओरेन्ज क्याप जित्नुभएको हो । उहाँले पनि १० लाख भारतीय रुपैयाँ र ट्रफी हात पार्नुभयो । यस्तै यस सिजनको गेम चेन्जरको अवार्डसमेत जित्नुभएका उहाँले १० लाख भारतीय रुपैयाँ प्राप्त गर्नुभएको थियो ।

दिल्लीलाई फाइनलसम्म पु¥याउनुभएको दक्षिण अफ्रिकी युवा तीव्र गतिका बलर कासिगो रबाडाले सर्वाधिक विकेट लिँदै पर्पल क्याप जित्नुभयो । रबाडाले १७ खेलमा ६५.४ ओभरमा ५४८ रन खर्चेर कुल ३० विकेट लिनुभएको थियो । उहाँले पनि दश लाख रुपैयाँ हात पार्नुभयो ।

पावर प्ले अवार्ड मुम्बईका ट्रेन्ट बोल्टले जित्नुभयो । उहाँले पनि दश लाख भारतीय रुपैयाँ पुरस्कार हात पार्नुभएको थियो । रोयल च्यालेन्जर्स बेंगलोरका युवा ओपनर ब्याट्सम्यान देवदत्त पाडिक्कल इमर्जिङ प्लेयर अफ द अवार्ड घोषित हुनुभयो उहाँले आइपीएलमा १५ खेल खेल्दै पाँच अर्धशतकसहित कुल ४७३ रन बनाउनुभएको थियो ।

बेन्चमै सन्दीप

यता, दिल्ली क्यापिटल्सका नेपाली स्टार सन्दीप लामिछाने भने यो सिजन भरि नै बेन्चमै रहनुभयो । दिल्लीले फाइनलसम्म पुग्दा कुनै पनि खेलमा सन्दीपलाई प्रयोग गरेन । क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेर आइपीएल खेल्न आउनुभएका सन्दीपलाई दिल्लीले मौका नदिएकोमा दिल्लीका नेपाली समर्थकहरू निराश बनेका थिए ।

सन्दीप अब स्वदेश फर्किएर अष्ट्रेलियाको बिगबास लिग खेल्न जाने हुनुभएको छ । उहाँका व्यवस्थापक रमन सिवाकोटीका अनुसार सन्दीपले यसपटक नयाँ टोलीबाट बिगबास लिग खेल्नुहुनेछ । अघिल्लो सिजन उहाँले मेलबर्न स्टारबाट खेल्नुभएको थियो । तर मेलबर्नले उहाँको सम्झौता नवीकरण नगरेपछि उहाँका लागि नयाँ टोलीसँग कुरा भइरहेको सिवाकोटीले जनाउनुभएको छ ।

बिगबासको नयाँ सिजन आउन अझै एक महिना बाँकी छ । गत भदौमा वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेल्न गएयता सन्दीप नेपाल फर्कन पाउनुभएको थिएन । सीपीएल खेलेर नै उहाँ आइपीएल खेल्न सिधै यूएई पुग्नुभएको थियो ।

 

आइपीएलका विजेता

मुम्बई इण्डियन्स : पाँच पटक (२०१३, २०१५, २०१७, २०१९, २०२०)

चेन्नाई सुपर किंग्स : तीन पटक (२०१०, २०११, २०१८)

कोलकत्ता नाइट राइडर्स : दुई पटक (२०१२, २०१४)

सनराइजर्स हैदरावाद : एक पटक (२०१६)

डक्कन चार्जस : एक पटक (२००९)

राजस्थान रोयल्स : एक पटक (२००८)

 

यस सिजनको सर्वाधिक स्कोरर

लोकेश राहुल : १४ खेल, ६७० रन

शिखर धवन : १७ खेल, ६१८ रन

डेविड वार्नर : १६ खेल, ५४८ रन

श्रेयस ऐøयर : १७ खेल, ५१९ रन

इसान किसन : १४ खेल, ५१६ रन


यस सिजनका सर्वाधिक विकेट्टेकर

कासिगो रबाडा : १७ खेल, ३० विकेट

जसप्रित बुम्राह : १५ खेल, २५ विकेट

टेन्ट बोल्ट : १५ खेल, २५ विकेट

एनरिक नोर्तजे : १६ खेल, २२ विकेट

युजभेन्द्र चाहाल : १५ खेल, २१ विकेट


Views: 48

सम्बन्धित सामग्री:

नेपालको आइसिसी वरियता यथावत

: मंसिर १७, २०७७ (९:०७ AM)