6th December | 2020 | Sunday | 3:19:55 AM

बंगलादेशलाई कडा चुनौती दिने लक्ष्य

  POSTED ON : कार्तिक २८, २०७७ (९:०२ AM)

बंगलादेशलाई कडा चुनौती दिने लक्ष्य

काठमाडौं । बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शुक्रबार) घरेलु टोलीविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । चैत्रपछि पहिलोपल्ट मैदानमा उत्रिएको नेपाली टोलीले घरेलु टोली बंगलादेशलाई कडा चुनौती दिने लक्ष्य राखेको छ ।

‘विगतदेखि नै हामी बंगलादेशविरुद्ध खेल्दै आएका छौं । एकअर्कासँग परिचित छौं तर यसपटक परिस्थिति भिन्न छ ।’ ढाकामा सञ्चारकर्मीसँगको कुराकानीमा नेपाली प्रशिक्षक बालगोपाल महर्जनले भन्नुभयो, ‘हाम्रा केही मुख्य खेलाडी छैनन् । उनीहरूलाई घरेलु मैदानको फाइदा छ । विभिन्न चुनौतीका बाबजुद पनि हामीले घरेलु टोलीलाई कडा चुनौती दिने लक्ष्य राखेका छौं ।’

नेपालमा एकहप्ताको प्रशिक्षणपश्चात् नेपाली टोली बिहीबार बंगलादेश प्रस्थान गरेको थियो । ढाकामा दुई दिन होटल क्वारेन्टिन बसेर पाँच दिन नेपाली टोलीले मैदानमा अभ्यास गर्न पाएको हो । त्यसपछि शुक्रबार नेपालले आठ महिनामा पहिलोपल्ट कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।

‘नेपालको एकहप्ताको प्रशिक्षण र बंगलादेशमा भएको चार÷पाँच दिनको परीक्षणले समग्रमा तयारी पूरा भएको छ । केही खेलाडीको इन्जुरीको समस्याले पर्ख र हेरको अवस्था छ,’ प्रशिक्षक महर्जनले थप्नुभयो ।

 नेपालमै गरिएको परीक्षणमा टोलीका सातजना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । एन्फाले नाम नखुलाएपछि टोलीका केही महŒवपूर्ण सदस्यहरू कोरोना पोजिटिभ देखिएका कारण नेपालमै रोकिएका थिए । अर्कातिर चोटका लागि अनुभवी मिडफिल्डर रोहित चन्द पनि नेपालमै रोकिएपछि नेपाली टोलीमा अधिकांश नयाँ खेलाडी छन् ।

टोलीमा यसपटक आठजना नयाँ खेलाडीले टोलीमा मौका पाएका छन् । २५ सदस्यीय नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवि पासवास, सरोज दाहाल, सेशेहाङ आङदम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ हुनुहुन्छ ।

‘नयाँ खेलाडीलाई बुझाउन, टोलीमा ढाल्न कठिन हुन्छ । तर उनीहरूलाई यो आफूलाई प्रस्तुत गर्ने, क्षमता देखाउने अवसर पनि हो । नयाँ खेलाडीले आफ्नो क्षमता देखाएर टोलीलाई सहयोग गर्ने आशा गर्नेछु,’ प्रशिक्षक महर्जनले थप्नुभयो ।

२०७५ भदौमा भएको साफ च्याम्पियन्ससिपमा नेपाल र बंगलादेश अन्तिम पटक खेलेका थिए । त्यसबेला नेपालले बंगलादेशलाई २–० गोलअन्तरले हराएको थियो । यता, प्रशिक्षक बालगोपाल महर्जन बंगलादेशमा भाग्यमानी ठहर्दै आउनुभएको छ । १९९३ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जित्दा महर्जन खेलाडीको रूपमा टोलीमा हुनुहुन्थ्यो । यस्तै २०१६ मा नेपालले ढाकामै भएको बंगबन्धु गोल्डकप जित्दा महर्जन प्रशिक्षकका रूपमा टोलीमा हुनुहुन्थ्यो । प्रशिक्षक महर्जनले विगतको भन्दा परिस्थिति फरक भए पनि सबै खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘मैले बंगलादेशमा खेल्दा होस् या प्रशिक्षण गर्दा राम्रो नतिजा निकालेको छु । तर अहिले विगतभन्दा परिस्थिति फरक छ । तयारीका लागि समय पनि पर्याप्त थिएन । तरपनि बंगलादेशसँग धेरै खेलिसकेका छौं । त्यहीँ भएर हामीसँग जति खेलाडी छन्, सबैले राम्रो गर्ने आशा गरेको छु’, उहाँले भन्नुभयो ।

बंगलादेशले तीन साताअघि नै नेपालविरुद्धको तयारी थालेको हो । बंगलादेशको टोलीमा व्यक्तिगत खेलाडीहरू राम्रो भएको र घरेलु मैदान भएकाले उनीहरूलाई आत्मविश्वास मिल्ने प्रशिक्षक महर्जनको भनाइ छ । नेपाली टोलीका कप्तान किरण चेञ्जोङले लामो समयपछि फुटबल मैदानमा फर्किएकाले राम्रो सुरुवात गर्न चाहेको बताउनुभयो । टोलीमा उत्साह भएपछि बंगलादेशलाई कमजोर आक्न नमिल्ने उहाँले बताउनुभयो ।

‘सात÷आठ महिनाको लामो समयपछि हामीले फेरि फुटबल खेल्न पाइरहेका छौं । हामी उत्साहित छौं,’ उहाँले भन्नुभयो, ‘बंगलादेश जहिले पनि राम्रो खेल्छ । यसअघि जस्तै दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरेको छु ।’ थोरै समयको अभ्यास र महŒवपूर्ण खेलाडीहरूको अनुपस्थिति भएपनि आफूहरू जितका लागि मैदान उत्रिने उहाँले बताउनुभयो ।

‘मैदानमा गएपछि कोही पनि हार्न चाहँदैन । आठ महिनापछि मैदानमा फर्किएका हामी एक हप्ताको तयारीपछि खेल्न जाँदैछौं । यो पर्याप्त समय होइन । तर चुनौतीका बाबजुद हामी एकजुट भएर जितका लागि खेल्नेछौं,’ कप्तान किरणले भन्नुभयो ।

दर्शकलाई प्रवेश दिइने

यसैबीच, नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका छन् । बंगलादेश फुटबल फेडेरेशन (बिएफएफ) ले दुवै मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

दुवै खेल ढाकास्थित बंगबन्ध नेशनल स्टेडियममा हुँदैछन् । कोरोना महामारीकाबीच दर्शकलाई मैदान प्रवेश गराई खेल गराइनु दक्षिण एसियामै यो पहिलोपल्ट हुनेछ । यद्यपि संघले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन दर्शकलाई अनुरोध गरेको छ । दुई मैत्रीपूर्ण खेललाई संघले ‘मुजिब बोर्शो फिफा इन्टरनेशनल फुटबल सिरिज २०२० ः बंगलादेश भर्सेस नेपाल’ नाम दिएको छ । मैत्रीपूर्ण नेपाली समय अनुसार साँझ ४ः१५ बजे सुरु हुनेछन् ।

विश्वकप छनोटको तयारी

नेपालले विश्वकप छनोटको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा विश्वकप छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले एक खेलमात्र जितेको छ । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन घरेलु खेल खेल्न बाँकी छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ । छनोटअन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसँग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

अवे खेलअन्तर्गत नेपालले चाइनिज ताइपेलाई २–० ले हराएको थियो । समूह ‘बी’ मा रहेको नेपालको पाँच खेलबाट तीन अंक रहेको छ । चाइनिज ताइपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया छ ।

नेपालको नयाँ तालिका

यसैबीच, कोरोनाभाइरसको महामारीका कारण स्थगित भएको विश्वकप छनोट तथा एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतका बाँकी खेलहरूको तालिका सार्वजनिक भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरू जुन १५ सम्म सकिने गरी खेल तालिका सार्वजनिक गरेको हो ।

एशियन छनोटको दोस्रो चरणका खेलहरू मार्चबाट सुरु हुनेछन् भने जुन १५ मा सकिनेछन् । जसमा सातांै र आठौं खेल मार्चमा हुनेछन् भने नबौं र १०औं खेल जुनमा हनेछन् । फाइनल चरणको खेल २०२१ को सेप्टेम्बरमा हुनेछन् ।

त्यसअनुसार अब नेपालले खेल्ने दोस्रो चरणका खेलहरू मार्च र जुन महिनामा खेल्नेछ । तर ठ्याक्कै मिति भने घोषणा भएको छैन । नेपालले चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । सबै खेल दशरथ रंगशालामा हुनेछन् ।


Views: 48