16th January | 2021 | Saturday | 7:37:44 AM

नौ महिनापछि मैदानमा नेपाली टोली

  POSTED ON : मंसिर १३, २०७७ (८:५० AM)

नौ महिनापछि मैदानमा नेपाली टोली

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टाली नौं महिनापछि प्रशिक्षणका लागि मैदानमा फर्किएको छ । गत चैतयता टोलीले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गरेको हो । कोरोना संक्रमणका कारण प्रशिक्षण प्रभावित भएपछि जगत टमटाको प्रशिक्षकमा नेपाली टोलीले सामुहिक प्रशिक्षण गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले सुरुमा २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । तर पिसिआर परीक्षणका क्रममा तीन खेलाडी र एक अफिसियललाई संक्रमण देखिएपछि थप पाँचजना खेलाडीलाई प्रशिक्षणमा थपिएकोे छ ।
कोरोना संक्रमित खेलाडीहरू कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, रोहित पौडेललाई कोरोना संक्रमण पुुष्टि भएको थियो । उहाँहरूको अवस्था सामान्य रहेको र हाल सेल्फ आइसोलेसनमा रहेको क्यानले जनाएको छ । यस्तै खेलाडीहरूले पनि सामाजिक सञ्चालमा पोष्ट गर्दै आफूहरूमा कुनै लक्षण नदेखिएको र चाँडै कोरोनालाई पराजित गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
क्यानले संक्रमित खेलाडीको प्रत्यक्ष सम्पर्कमा आएका अन्य सात खेलाडीलाई पनि आइसोलेसनमा राखेको जनाएको छ । यसरी आइसोलेसनमा बस्नेमा सन्दीप जोरा, अभिनाश बोहोरा, कमलसिंह ऐरी, किशोर महतो, कुशल भुर्तेल र रासिद खान रहनुभएको छ । उहाँहरूलाई पुनः प्रशिक्षणपछि प्रशिक्षणमा फर्काउने क्यानको योजना छ ।
खेलाडीहरू आइसोलेसनमा रहेका कारण पहिलो दिन प्रशिक्षणमा नौजना खेलाडीमात्रै सहभागी हुनुहुन्थ्यो । पहिलो दिन पूर्वकप्तान पारस खड्का, विनोद भण्डारी, ललित राजवंशी, पवन सराफ, भुवन कार्की, आरिफ शेख, अनिलकुमार शाह, सुसन भारी र तीन जना अफिसियलहरूले त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण थाल्नुभएको थियो । ‘लामो समय खेलाडीहरू घरमै भएकाले फिटनेसमा चुनौती देखिएको छ । स्किलवाइज नेपाली खेलाडी पहिलेदेखि नै राम्रा छन् । फिटनेस सुधार्दै उनीहरूलाई लयमा ल्याउनुपर्नेछ,’ प्रशिक्षक जगत टमटाले हिमालय टाइम्ससँग भन्नुभयो ।
यस्तै पछि बोलाइएका पाँचजना खेलाडीहरू काठमाडौं आइपुगेको क्यानले जनाएको छ । अब उनीहरूको परीक्षणपश्चात् प्रशिक्षणमा सहभागिता गराइनेछ । नयाँ बोलाइएका खेलाडीमा लोकेश बम, रित गौतम, अनिलकुमार शा, कुशल भुर्तेल र विक्रम सोब हुनुहुन्छ ।
गत चैतमा कोरोना भाइरसको महामारी रोकथामका लागि लगाइएको लकडाउनका कारण नेपाली खेलकुद ठप्प भएको थियो । त्यसयता अघिल्लो महिना बल्ल सरकारले खेलकुदका गतिविधि सञ्चालन गर्न अनुमति दिएपछि क्यानले खेलाडीको बन्द प्रशिक्षण बोलाएको हो ।
क्यानले खेलाडीलाई २५ दिनको प्रशिक्षणमा राख्ने योजना बनाएको छ । त्यसक्रममा केही अभ्यास खेलहरू हुनेछन् । त्यसपछि प्रधानमन्त्री कपको आयोजना गर्ने क्यानको लक्ष्य छ । यद्यपि प्रधानमन्त्री कपको मिति भने क्यानले सार्वजनिक गरिसकेको छैन ।
नेपाल सोझै ग्लोबल छनोटमा
सन् २०२२ मा अष्ट्रेलियामा हुने आइसिसी टी २० विश्वकपका लागि नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको छ । आइसिसीले बनाएको नयाँ छनोट प्रक्रियाअनुसार २०२२ मा हुने टी २० विश्वकपका लागि २०२० को जनवरी एक तारिखसम्म बरियताका आधारमा जिम्बावे, नेपाल, युएई र हङकङले सोझै ग्लोबल छनोटमा स्थान बनाउने भएका छन् ।
२०२२ को विश्वकपमा आइसिसीले १६ टिमलाई सहभागिता गराउने भएको छ । आइसिसीले यो विश्वकपका लागि अफ्रिका, अमेरीका, एशिया, पूर्वी एशिया र युरोप गरेर ११ वटा क्षेत्रीय छनोट प्रतियोगिता गर्नेछ । यसअघि नेपालले पूर्वी एसिया छनोट खेल्नुपर्ने भएपछि यसपालि भने खेल्नुनपर्ने भएको हो ।
वित्तीय व्यवस्थापकका लागि अन्तर्वार्ता
यस्तै, क्यानले प्रमुख वित्तीय व्यवस्थापकका लागि अन्तर्वार्ता लिएको छ । क्यानले अन्तिम छनोटमा परेका तीन वित्तीय व्यवस्थापकको अन्तर्वार्ता लिएको जनाएको छ । वित्तीय व्यवस्थापकका लागि आवेदन परेका ३७ जनाबाट १५ हुँदै अन्तिम चरणमा अन्तर्वार्ताका लागि तीनजना छनोट गरिएको क्यानले जनाएको छ ।
क्यानले यसअघि मुख्य प्रशिक्षक, जनरल म्यानेजर र क्रिकेट म्यानेजरको अन्तर्वार्ता लिएको थियो । तर छनोटमा परेका कसैको नामपनि क्यानले सार्वजनिक गरेको छैन । क्यानले मुख्य प्रशिक्षक छनोटका लागि पाँच सदस्सीय छनोट समितिसमेत गठन गरिसकेको थियो । जसमा तीनजना क्यानबाट एकजना आइसिसी र एकजना स्वतन्त्र विज्ञ रहनुभएको छ ।


Views: 70