27th January | 2021 | Wednesday | 6:20:06 PM

प्रधानमन्त्री कप क्रिकेटको बन्द प्रशिक्षण तीन दिनमात्रै

रमेश गाम्नागे   POSTED ON : पुष २९, २०७७ (९:११ AM)

प्रधानमन्त्री कप क्रिकेटको बन्द प्रशिक्षण तीन दिनमात्रै

विराटनगर । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विराटनगरमा प्रदेश १ टोलीको बन्द प्रशिक्षण सुरु गरिएको छ । विराटनगरस्थित विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीमा तीन दिनका लागि सुरु भएको प्रशिक्षणमा २३ खेलाडी छन् । 

मोरङ, सुनसरी, झापा र इलामबाट चयन भएका खेलाडीबाट अन्तिम १४ जनाको टोली तयार हुने छनोट समितिले जनाएको छ । समितिका सदस्य राजकुमार प्रधानका अनुसार बन्द प्रशिक्षणमा मोरङबाट १०, सुनसरीबाट ६, झापाबाट पाँच र इलामबाट दुई जना खेलाडी छन् । व्याटिङ र स्पिनर नै मुख्य हतियार हुनेगरी टोली तयार भइरहेको बताएका छनोट समिति सदस्य प्रधानले टोली तयारका लागि समय अपुग रहेको गुनासो गर्नुभयो । 

विगतमा कमजोर आंकलन गरिएकोे प्रदेशको ब्याटिङ तालिकामा यसपटक धेरै सुधारसहित टोली बलियो हुने प्रधानको दाबी छ । त्यसैगरी, पाँच वर्षअघि घरेलु टोली जर्सीविरुद्ध आइसीसी विश्व टी–ट्वेन्टी छनोटका क्रममा हेलिकप्टर प्रहारबाट चर्चा कमाउनुभएका सिद्धान्त लोहनी भने बन्द प्रशिक्षणको समय कम भएको गुनासो गर्नुहुन्छ ।

माघ २ गतेबाट काठमाडौंमा सुरु हुने पिएम कपका लागि तीन दिनको बन्द प्रशिक्षण खेलाडीका लागि कम हुने बताउनुभएका लोहनीले प्रतियोगितामा शतप्रतिशत नतिजा दिन सकिने उल्लेख गर्नुभयो । राष्ट्रियस्तर र नयाँ खेलाडीबीचको मिश्रणले टोली बलियो हुने दाबी गर्नुभएका २४ वर्षीय लोहनीले ब्याटिङ र बलिङ पक्ष प्रदेशको हतियार हुने जानकारी दिनुभयो । 

तीन दिने बन्द प्रशिक्षणका लागि विराटनगर एकेडेमीका सञ्चालक अभिषेक श्रेष्ठले प्रदेश टोलीको अभ्यासका लागि स्थान निःशुल्क उपलब्ध गराएको जानकारी दिनुभयो । प्रतियोगितामा बलियो टोली त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, गण्डकी र कर्णाली प्रदेशसँग प्रदेश १ ले प्रतिस्पर्धा गर्नेछ । यसक्रममा प्रदेश १ को टोलीले समूहमा आफ्नो पहिलो खेल माघ ३ गते सशस्त्र प्रहरी बलको टोलीविरुद्ध खेल्नेछ ।

काठमाडौंको मूलपानी र कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा प्रतियोगिता माघ २ देखि १७ गतेसम्म हुनेछ । यसअघि दाङको लमहीमा सम्पन्न प्रतियोगिताको महिलातर्फको उपाधि प्रदेश १ ले चुमेको थियो । 


Views: 44

सम्बन्धित सामग्री: