27th January | 2021 | Wednesday | 7:13:10 PM

गौरिका र मन्डेकाजी वर्ष खेलाडी

  POSTED ON : पुष २९, २०७७ (९:१३ AM)

गौरिका र मन्डेकाजी वर्ष खेलाडी

काठमाडौं । पौडीकी गौरिका सिंह र कराँतेका मण्डेकाजी श्रेष्ठ वर्ष २०७६ को वर्ष खेलाडी चुनिनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६ मा उहाँहरू उत्कृष्ट खेलाडी बन्नुभएको हो ।

अवार्ड जितेसँगै दुवैले एक थान पल्सर मोटरसाइकल र गिफ्ट हृयाम्पर प्राप्त गर्नुभयो । मण्डेले फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्नुभयो । मन्देले गतवर्ष मंसिरमा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण पदक (टिम काता र एकल) जित्नुभएको थियो । यस्तै उहाँले आठौं राष्ट्रिय खेलकुद, स्वर्ण पदक (एकल काता) र रजत (टिम काता) तथा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा कास्य पदक (एकल काता) र स्वर्ण पदक (टिम काता) जित्नुभएको थियो ।

पौडीकी गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जित्नुभयो ।

गौरिकाले गत वर्ष सागमा सबैभन्दा बढी चार स्वर्णपदक जित्नुभएको थियो । यस्तै उहाँले दुई रजत र तीन कास्य पदकसमेत जित्नुभएको थियो । चार स्वर्ण जित्दै उहाँले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानस“ग बराबर गर्नुभयो । यस्तै आठौं राष्ट्रिय खेलकुदमा उहाँले सहभागिता जनाउनुभएका सबै १२ स्पर्धामा स्वर्ण जित्दै सनसनी मच्चाउनुभएको थियो ।

यस्तै आमजनता, खेलपत्रकार र खेल प्रशिक्षकको भोटबाट चुनिने पिपुल्स च्वाइस अवार्ड भलिबलकी अरुणा शाहीले जित्नुभयो । उहाँ राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान समेत हुनुहुन्छ । अरुणाले कुल प्राप्त भोटको सर्वाधिक ३७.५२ भोट पाउनुभएको थियो । यस्तै यसै अवार्डको मनोनयनमा परेका करातेका मण्डेकाजी श्रेष्ठले २८.४७ भोट पाउँदै दोस्रो हुनुभयो । यसअवार्डको मनोनयनमा परेकी पौडीकी गौरिका सिंह, फुटबलकी सावित्रा भण्डारी, बास्केटबलकी सदीना श्रेष्ठले मत ल्याउनुभयो । 

वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड गल्फका सुवास तामाङले जित्नुभयो । सागमा उहाँले व्यक्तिगत र टिममा गरी दुई स्वर्ण पदक जित्नु भएको थियो । आठौं राष्ट्रिय खेलकुदको टिम स्पर्धामा उहाँले रजत पदक जित्नुभएको थियो । यस्तै उहाँ फाल्डो सिरिज छनोट ०७६ र सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन हुनुभएको थियो । सुवासले आफूलाई अवार्ड दिने सम्पूर्णलाई धन्यवाद दिँदै रोयल नेपाल गल्फ कोर्सप्रति कृतज्ञता जनाउँनुभयो ।

यस अवार्डमा सुवासले तेक्वान्दोका भुपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारात्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बू मादेनलाई पछि पार्नुभयो ।

वर्षको उत्कृष्ट प्रशिक्षकको बाजी तेक्वान्दोका नवीन श्रेष्ठले जित्नुभयो । उहाँको प्रशिक्षकत्वमा १३ औं सागमा तेक्वान्दो खेलाडीले १२ स्वर्ण, ६ रजत र ११ कास्यपदक जित्नुभएको थियो । तेक्वान्दोबाट सागमा समावेश हुनुभएका २९ वटै खेलाडीले पदक जित्नुभएको थियो ।

अवार्ड विजेता प्रशिक्षक श्रेष्ठले सागको सफलतामा सबै प्रशिक्षकहरूको भूमिका रहेकाले सबै गुरुलाई यो सम्मान समर्पण गर्न चाहेको बताउनुभयो । उहाँले अवार्ड सबै टिमलाई समर्पित गर्नूभयो ।

श्रेष्ठले करातेका मदन उप्रेती, उसुका अमरकुमार थिङ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्कीलाई पछि पार्नुभयो । सागमा थिङको प्रशिकत्वमा रहेको उसुले पाँच स्वर्ण, ६ रजत र पाँच कास्य, उप्रेतीको प्रशिक्षकत्वमा रहेको करातेले १० स्वर्ण, चार रजत र पाँच कास्य, थापामगरको प्रशिक्षकत्वमा रहेको बक्सिङले तीन स्वर्ण, ६ रजत र ६ कास्य तथा कार्कीको प्रशिक्षकत्वमा रहेको पौडीले चार स्वर्ण, चार रजत र चार कास्यपदक जितेको थियो ।

लाइफ टाइम एचिभमेन्ट अवार्ड पाँचांै साग खेलमा स्वर्णपदक विजेता महिला टेनिस खेलाडी सिजरिन शाह र गीता क्षेत्रीले प्राप्त गर्नुभयो । श्रीलंकामा भएको उक्त सागमा जितेको उक्त स्वर्णपदक नेपाली महिला खेलाडीले जितेको पहिलो पदक हो ।

पारा एथलेट अवार्ड हिृवलचेयल राष्ट्रिय क्रिकेट टोलीका कप्तान डिगम सिंह चेम्जोङले पाउनुभयो । उहाँले क्रिकेटसँगै बास्केट र टेबुलटेनिस पनि खेल्नुहुन्छ । कतारमा काम गर्न गएका बेला २१ वर्ष उमेरमा सडक दुर्घटनामा परी उहाँको आधा शरीर नचल्ने भएको थियो । ११ महिना अस्पतालमा उपचार पछि उहाँ घर फर्कनु भएको थियो । २०६७ सालदेखि उहाँ पारा खेलकुदमा आबद्ध हुनुहुन्छ ।

स्पेशल अवाड धाविका सन्तोषी श्रेष्ठ र तेक्वान्दोकी आयशा श्रेष्ठले जित्नुभयो । श्रेष्ठले १३औं सागमा १० हजार मिटर दौडमा स्वर्ण पदक पदक जित्नुभएको थियो । यस्तै आठौं राष्ट्रिय खेलकुदमा उहाँले ५ हजार मिटरमा स्वर्ण १५ सय मिटरमा रजत र १० हजार मिटरमा कास्य पदक जित्नुभएको थियो । यस्तै २०७६ मै भएको वीर गणेशमान सिंह १० किमि रोड रेस र नेवाः च्यारिटी धरान १० किमी रनमा उहाँले स्वर्णपदक जित्नुभएको थियो ।

यस्तै अर्की स्पेशल अवार्ड विजेता आयशा शाक्यले सागमा दुई स्वर्ण पदक जित्नुभएको थियो । यस्तै उहाँले आठौं बृहत राष्ट्रिय खेलकुदमा कास्य पदकसमेत जिन्तुभएको थियो । अवार्ड ग्रहणपश्चात् आयशाले स्पेसल अवार्ड जित्दा स्पेसल भएको झै महसुस भइरहेको बताउँनुभयो ।

यस्तै टिम अफ द इअरको अवार्ड राष्ट्रिय महिला भलिबल टोलीले हात पा¥यो । भलिबल टोलीले गतवर्ष भएको सागमा रजत पदक हात पारेको थियो भने बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा स्वर्णपदक जितेको थियो । यस्तै एसियन स्पोर्टस जर्नालिस्ट अवार्डबाट मलेसियाका अहमद खावरी मोहम्मद इसालाई सम्मानित गरियो । 

एनएसजेएफले खेलकुद पत्रकारितासँगै खेलाडी र खेलकर्मीको प्राप्त उपलब्धिलाई सम्मान गर्न मञ्चले आफ्नो स्थापनाकालदेखि नै अवार्ड कार्यक्रम सुरुवात गरेको थियो । सुरुवातका केही वर्ष आयोजना गरेपनि यसले नियमितता पाउन सकेको थिएन । २०६० सालमा नयाँ नेतृत्व आएसँगै अवार्ड कार्यक्रमले निरन्तरता पाएको थियो ।

विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण यस वर्ष पनि सहज ढंगले अवार्ड आयोजना गर्नसक्ने अवस्था थिएन । तर पनि सेमि भर्चुअल रूपमा एनएसजेफले मंगलबार अवार्डको आयोजना गरेको हो ।


Views: 45

सम्बन्धित सामग्री: