8th March | 2021 | Monday | 9:16:02 AM

प्रधानमन्त्री कप क्रिकेट आजदेखि

  POSTED ON : माघ २, २०७७ (८:५१ AM)

प्रधानमन्त्री कप क्रिकेट आजदेखि

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आज (शुक्रबार) देखि टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता रहनेछ ।

त्रिवि मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्ने छन् । सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश छन् ।

प्रतियोगिताको दोस्रो दिन एपीएफ क्लब र प्रदेश १ बीच खेल हुनेछ । यस्तै माघ ४ गते नेपाल पुलिस क्लब र बागमती प्रदेश तथा आर्मी र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

दुवै समूहको शीर्ष दुई स्थान बनाउने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । सेमिफाइनल खेल माघ १४ र माघ १५ गते हुनेछन । समूह ‘ए’ को विजेता र समूह ‘बी’को उपविजेताले पहिलो सेमिफाइनल तथा समूह ‘बी’को विजेता र समूह एको उपविजेताबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को मुख्य बजेटमा क्यानले गर्न लागेको यो प्रतियोगिता यसअघि कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो । क्यानको आधिकारीक निकाय आएपछि पहिलोपटक प्रधानमन्त्री कप क्रिकेट गर्न लागेको हो । यसअघि प्रतियोगिताका तीन संस्करण आयोजना भइसकेको छ । यसपटक प्रतियोगिताको पहिलो हुने टिमले कति पाउने भन्ने क्यानले अझै खुलाएको छैन । यसअघि विजेताले २० लाख रुपैयाँ पाउँदै आएका थिए ।

यसैबीच तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा अलराउन्डर कुशल मल्लले भने प्रतियोगितामा सहभागिता नजनाउनु हुने भएको छ । तीनवटै खेलाडीले जनवरी अन्तिमदेखि संयुक्त अरव इमिरेट्स (युएई) मा हुने टि–१० लिगमा सहभागिता जनाउने भएकाले प्रधानमन्त्री कप नखेल्ने हुनुभएको हो ।

गत पुस दोस्रो साता सम्पन्न टि–१० लिगको ड्राफ्टबाट सोमपाल मराठा अरेवियन्स, कुशल टिम आबुधाबी र करण पुणे डेभिल्समा अनुबन्ध हुनुभएको थियो । टी–१० टेन जनवरी २८ देखि फेब्रुवरी ६ सम्म आबुधाबीमा चल्नेछ । 


Views: 79