6th March | 2021 | Saturday | 2:17:24 AM

एन्फामा अब २१ सदस्यीय कार्यसमिति

  POSTED ON : माघ ९, २०७७ (९:०४ AM)

एन्फामा अब २१ सदस्यीय कार्यसमिति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा अब २१ सदस्यीय कार्यसमिति हुने भएको छ । मंगलबार सम्पन्न एन्फाको १९औं साधरणसभाले विधान संशोधन गर्दै यसअघि १७ सदस्यीय कार्यसमितिलाई थप्ने निर्णय पारित गरेको हो ।

आगामी निर्वाचनबाट २१ सदस्यीय कार्यसमिति एन्फामा रहने प्रवक्ता किरण राईले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि वरिष्ठ उपाध्यक्ष मनोनित हुने नियम रहेपनि अब चुनाव हुनेछ । यसअघि चारजना उपाध्यक्षबाट एकजना वरिष्ठ उपाध्यक्ष मनोनित गर्ने परम्परा थियो ।

२१ जनाको कार्यसमितिमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र १५ जना सदस्यको निर्वाचन हुनेछ । १५ जना सदस्यमा दुई महिला अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ ।

साधारणसभाले एन्फाको केन्द्रीय समितिले पेस गरेका सबै प्रस्तावलाई समेत पास गरेको प्रवक्ता राईले जानकारी दिनुभयो । साधारणसभाले चालु आर्थिक वर्षका लागि पेस भएको झण्डै ८६ करोड रुपैयाँको बजेटलाई अनुमोदान गरेको छ ।

त्यस्तै राष्ट्रिय लिगसहित १० प्रतियोगिता गर्ने वार्षिक क्यालेन्डरलाई साधारणसभाले पारित गरेको छ । क्यालेन्डरअनुसार ६ महिने ‘ए’ डिभिजन लिग हुनेछ । लिग भाद्रदेखि माघसम्म सञ्चालन गर्ने कार्यतालिका छ ।

क्यालेन्डरअनुसार एन्फाले जेठ महिनामा चार राष्ट्र सम्मिलित महिलाको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलाउने छ । नेपालले जेठ २४ मा विश्वकप छनोटको जोर्डनविरुद्धको खेल दशरथ रंगशालामा खेल्नेछ । यस्तै बंगलादेशमा भाद्र २९ देखि असोज नौ गतेसम्म सञ्चालन हुने साफ च्याम्पियन्ससिपमा नेपालको सहभागिता रहनेछ । एन्फाले फागुनमा एन्फा प्रेसिडेन्ट कप सञ्चालन गर्ने क्यालेन्डरमा उल्लेख छ ।


Views: 95