8th March | 2021 | Monday | 5:38:03 AM

लुम्बिनीसँग बराबरीमा रोकिएको बागमती सेमिफाइनलमा

  POSTED ON : माघ १२, २०७७ (९:५७ AM)

लुम्बिनीसँग बराबरीमा रोकिएको बागमती सेमिफाइनलमा

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा लुम्बिनी प्रदेशसँग बराबरीमा रोकिएको बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । २२१ रनको लक्ष्य पछ्याएको बागमतीले ४८औं ओभरको अन्तिम बलमा एक रन आवश्यक हुँदा दीपेन्द्र रावतलाई रन आउटका रूपमा गुमाएपछि दुवै टोली समान २२० रनमा रोकिएका थिए ।

खेल बराबरीमा सकिएपछि अंक बाडिँदा समूह ‘बी’को शीर्षमा रहेको बागमतीले सेमिफाइनलमा स्थान पक्का ग¥यो । लक्ष्य पछ्याउनेक्रममा लुम्बिनीका लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले सर्वाधिक ४१–४१ रनको पारी खेल्नुभएको थियो । यस्तै सौरभ खनालले ३४ र देव खनालले २६ रन बनाउनुभएको थियो । बागमतीका विपिन आचार्यले चार तथा गौतम केसीले दुई विकेट लिनुभयो ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको बागमतीले ५० ओभरमा नौ विकेट गुमाएर २२० रन बनाएको थियो । आदील खान र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेल्नुभएपछि बागमतीले उक्त स्कोर बनाएको हो । 

आदिलले ८७ बलमा पाँच चौका र तीन छक्का गर्दै ५५ तथा ईशानले ५३ बलमा चार चौका र दुई छक्कासहित ५१ रन जोड्नुभएको थियो । यस्तै आकाश थापाले ३९ रन जोड्दा पृथु बास्कोटाले २९ रनको योगदान दिनुभयो । लुम्बिनीका दीपेन्द्र रावतले तीन विकेट लिनुभएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई तीन विकेटले हराउँदै सान्त्वना जित हात पारेको छ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रदेश २ ले दिएको १९६ रनको सुदूरपश्चिमले ३३.७ विकेट गुमाएर पूरा ग¥यो । सुदूरपश्चिमको जितमा सन्जु धिमालले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३५ बलमा आठ चौका र दुई छक्का प्रहार गर्नुभयो । यस्तै कप्तान खडक बोहोराले ४३, गजेन्द्र बोहोराले ३९, अरुण ऐरीले १९, अर्जुन साउद सात रन जोड्नुभयो । प्रदेश २ का कुमार थापाले तीन विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको प्रदेश २ ले ४२ ओभरमा सबै विकेट गुमाएरु १९५ रन बनाएको थियो । प्रदेश २ का हरिशंकर साहले ६० तथा विवेक यादवले ४१ रन जोड्नुभयो । सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले तीन तीन विकेट लिनुभयो । अब अन्तिम खेलमा प्रदेश २ ले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता छ । खेलहरू त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा भइरहेका छन् । सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश छन् ।

राष्ट्रिय खेलकुद परिषद्को मुख्य बजेटमा नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले कति रकम पाउँछन् भन्नेबारे क्यानले केही खुलाएको छैन । यसअघि प्रतियोगिताका तीन संस्करण आयोजना भइसकेको छ । यसपटक प्रतियोगिताको पहिलो हुने टिमले कति पाउने भन्ने क्यानले अझै खुलाएको छैन । यसअघि विजेताले २० लाख रुपैयाँ पाउँदै आएका थिए ।


Views: 90