4th March | 2021 | Thursday | 5:30:54 AM

पिएम कपको सेमिफाइनल समीकरण पूरा

  POSTED ON : माघ १३, २०७७ (९:२५ AM)

पिएम कपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश–२ लाई चार विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तिम चारको समीकरण पूरा भएको हो ।

पुसिलसँगै समूह ‘बी’को विजेताका रूपमा बागमती प्रदेश सेमिफाइनलमा पुगेको हो । बागमतीले सात र पुलिसले ६ अंकसहित अन्तिम चारमा स्थान बनाएका हुन् । यस समूहबाट लुम्बिनी, सुदूरपश्चिम र प्रदेश २ बाहिरिए । यस्तै समूह ‘ए’बाट समूह विजेताका रूपमा नेपाल एपीएफ क्लब र समूह उपविजेताका रूपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरे । यस प्रदेशबाट कर्णाली, गण्डकी र प्रदेश १ बाहिरिए ।

सोमबार भएको समूह ‘बी’को अन्तिम खेलमा प्रदेश २ ले दिएको १७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । पुलिसको जितमा अनिल साहले अविजित ४७ रन बनाउनुभयो । यस्तै कुशल भुर्तेलले ४३, दीपेन्द्रसिंह ऐरी र अमित श्रेष्ठले समान १७–१७ रन जोड्नुभयो । प्रदेश–२ का कुमार थापा र विवेक यादवले तीन÷तीन विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको प्रदेश–२ ले ४७ ओभरमा नौ विकेट गुमाएर १६९ रन बनाएको थियो । उसका लागि हरिशंकर साहले ८४ बलमा पाँच चौका र एक छक्कासहित ५३ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । पुलिसका ललित राजवंशीले चार विकेट लिनुभयो ।

यता, कीर्तिपुर मैदानमा भएको खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गरेको छ । एपीएफले दिएको २४१ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३४ रनमात्रै बनाउन सक्यो ।

आर्मीका लागि अनिल मण्डलले ७६ बलमा आठ चौकासहित सर्वाधिक ४५ रन जोड्नुभयो । यस्तै राजेश पुलामीले ३३, विक्रम सोवले २८, लोकेश बमले २१, रोहित पौडेलले ३० र साहब आलामले २० रन जोडे पनि आर्मीले विजयी लक्ष्य भेटाउन सकेन । एपीएफका कमल ऐरिले तीन विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो । एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६, सुवास खकुरेलले ३८ र सन्दीप जोराले २८ रन जोड्नुभएको थियो । आर्मीका हरि चौहानले पाँच विकेट लिनुभएको थियो ।

प्रधानमन्त्री कपमा अब पहिलो सेमिफाइनल यही माघ १४ गते र दोस्रो सेमिफाइनल १५ गते हुनेछ । फाइनल खेल माघ १७ गते हुने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।


Views: 62