5th March | 2021 | Friday | 8:15:29 AM

पुलिसले वालिङसँग अंक बाड्यो

  POSTED ON : माघ १४, २०७७ (८:५७ AM)

पुलिसले वालिङसँग अंक बाड्यो

काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग एक–एक गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा दुवै टोलीले एक–एक गोल गरेका थिए । मैदानको मध्यभागबाट एकल प्रयासमा बल अघि बढाउँदै विदेशी खेलाडी मिथो रुथले ५३औं मिनेटमा गोल गर्दै वालिङलाई अग्रता दिलाउनुभएको थियो ।

जारी लिगमा एक टोलीले चार विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । पुलिसविरुद्ध वालिङले तीन क्यामरुनी खेलाडी मैदान उतारेको थियो । खेलको ६५औं मिनेटमा रेखा पौडेलले पुलिसबाट बराबरी गोल फर्काउनुभयो । उहाँले अमृता जैसीले उपलब्ध गराएको फ्रिकिकमा गोल गर्नुभएको थियो । राबरीसँगै पुलिसले तीन खेलबाट पाँच अंक जोडेको छ । अंक तालिकामा पुलिस तेस्रो स्थानमा छ । यसअघि पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गरेको थियो ।

यता वालिङको यो दोस्रो बराबरी हो । वालिङले तीन खेलबाट दुई अंक जोडेको छ । पहिलो खेलमा विराटनगर महानगरपालिकासँग एक–एक गोलको बराबरीमा रोकिएको वालिङ दोस्रो खेलमा आर्मीसँग ७–० गोलअन्तरले पराजित भएको थियो । बराबरीमा रोकिएपछि पुलिसका प्रशिक्षक सञ्जीव जोशीले खेलाडीहरूले पाएको मौका सदुपयोग गर्न नसक्दा अंक बाड्नुपरेको बताउनुभयो । वालिङका प्रशिक्षक दिलिप थापाले पुलिससँग अंक खोस्न पाउनु ठूलो उपलब्धिका रूपमा अथ्र्याउनुभयो । खिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा जारी महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुन लागेको हो । पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको थिएन ।

प्रतियोगिताको विजेता टोलीले १० लाख, दोस्रोले आठ लाख, तेस्रोले पाँच लाख तथा चौथो हुनेले तीन लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । 


Views: 54