2nd March | 2021 | Tuesday | 8:01:42 AM

स्पोर्टस अवार्डलाई माया मेट्रोको साथ

  POSTED ON : माघ १४, २०७७ (९:०० AM)

स्पोर्टस अवार्डलाई माया मेट्रोको साथ

धनगढी । धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको माया मेट्रो हस्पिटलले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको हो ।

स्पोर्टस अवार्डमा दिइने नौवटा विधामध्येको सुदूरपश्चिम आइकन पुरुष अवार्डको नाम माया मेट्रो हस्पिटल सुदूरपश्चिम आइकन पुरुष अवार्ड हुनेभएको छ । विधा प्रायोजनसम्बन्धी सम्झौता पत्रमा माया मेट्रो हस्पिटलका अध्यक्ष धीरेन्द्र सावद र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले हस्ताक्षर गर्नुभयो ।

सम्झौता तथा हस्ताक्षर कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल र कीर्तिमानी खेलाडी ओलम्पियन दीपक विष्टको सहभागिता थियो । यो अवार्डको थप गरिएको विधा हो । यस विधाअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल पुरुष खेलाडीलाई अवार्ड प्रदान गरिनेछ । तीनजना महिला खेलाडीको मनोनयन सार्वजनिक गर्दै चैत ६ गते एक जनालाई नगद २० हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीलाई प्रोत्साहन गर्न नयाँ अभियानमा अस्पतालका तर्फबाट सहयोग गरेको ‘माया मेट्रो’ अस्पतालका अध्यक्ष धीरेन्द्र सावदले बताउनुभयो । उहाँले खेलकुद क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेको अस्पतालले आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सावद नेपाल क्रिकेट संघका निवर्तमान केन्द्रीय सदस्य हुनुहुन्छ ।

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको तिवारी मेडिसिन डिष्ट्रिव्यटर्सले सुदूरपश्चिम आइकन महिला विधालाई तिवारी मेडिसिनले प्रायोजन गरिसकेको छ । सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणलाई धनगढी उप महानगरपालिकाले प्रबद्र्धकको रूपमा सहयोग गर्ने सम्झौता भइसकेको छ । अन्य प्रायोजक र विधा प्रायोजकको खोजी भइरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले गत वर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न नौ विधामा अवार्ड दिइनेछ । गतवर्ष ६ विधामा अवार्ड दिइएको थियो । पिपल्स च्वाइस, सुदूरपश्चिम आइकन महिला र पुरुष विधा यसपालिदेखि थप गरिएका हुन् । अघिल्लो वर्षजस्तै यसवर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू छन् । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी चार विधाका विजेतालाई नगद ३० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई नगद २५ हजारसहित ट्रफी मेडल र प्रमाण पत्र दिइनेछ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी मेडल र प्रमाण पत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट हृयाम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।


Views: 184

सम्बन्धित सामग्री:

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

: फाल्गुन १५, २०७७ (१२:५१ PM)

सातदोबाटोको प्रतिस्पर्धात्मक जित

: फाल्गुन १५, २०७७ (१०:०९ AM)