27th February | 2021 | Saturday | 3:16:18 PM

पुलिसमाथि एपीएफको संघर्षपूर्ण जित

  POSTED ON : फाल्गुन ४, २०७७ (९:११ AM)

पुलिसमाथि एपीएफको संघर्षपूर्ण जित

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अपराजित तथा शीर्ष स्थानमा रहेको एपीएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले पुलिसमाथि २–१ गोलअन्तरको जित हात पा¥यो । एपीएफका लागि रबिना गोलेले एक गोल गर्नुभयो भने एपीएफले एक गोल आत्मघाती उपहार पाएको थियो । पुलिसका अमृता जैशीले एक गोल फर्काउनुभयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९औं मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङले आत्मघाती गोल गर्दा एपीएफले अग्रता पाएको थियो । ७५औं मिनेटमा पुलिसकी अमृताले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो । ८६औं मिनेटमा रबिनाले गोल गर्दै एपीएफले २–१ को जित हात पा¥यो ।

जितसँगै एपीएफले अपराजित यात्रा कायम राखेको छ । एपीएफ उपाधि नजिक समेत पुगेको छ । एपीएफले १० खेलमा ३० अंक जोडेको छ । पुलिसले १० खेलमा १४ अंक जोडेको छ । चौथो स्थानको पुलिस उपाधि होडबाट बाहिरिसकेको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा जारी महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुन लागेको हो । पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको थिएन ।

प्रतियोगिताको विजेता टोलीले १० लाख, दोस्रोले आठ लाख, तेस्रोले पाँच लाख तथा चौथो हुनेले तीन लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । 


Views: 55