11th April | 2021 | Sunday | 5:56:06 PM

नयाँबस्ती र टुसाल युथ क्लबबीच बराबरी

  POSTED ON : फाल्गुन २०, २०७७ (७:५३ AM)

नयाँबस्ती र टुसाल युथ क्लबबीच बराबरी

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत बुधबार भएको खेलमा नयाँबस्ती युवा क्लब र टुसाल युथ क्लबबीचको खेल बराबरीमा टुंग्गिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा नयाँबस्तीले टुसालसँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको हो । सुरुवाती अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा नयाँबस्ती अंक बाड्न बाध्य भएको हो । खेलको ३९औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाउनुभएको थियो । खेलको ७१औं मिनेटमा एलोन राईले गोल गर्दै टुसाललाई १–१ गोलको बराबरी ल्याउनुभयो । यस बराबरीसँगै नयाँबस्तीले नौ खेलमा १२ अंक जोडेको छ । नयाँबस्ती छैटौं स्थानमा छ । टुसाल नौ खेलमा आठ अंक जोडेर सातौं स्थानमा छ ।

यस्तै प्रतियोगितामा मंगलबार साँझ भएको खेलमा बाँसबारी युवा क्लबले पुल्चोक स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले पराजित गरेको थियो । बाँसबारीका लागि दुवै गोल निशान सुनारले गर्नुभएको हो । उहाँले खेलको ४७औं मिनेटमा पहिलो गोल गर्नुभएको हो । सुनारले नै खेलको ६९औं मिनेटमा बाँसबारीका लागि दोस्रो गोल गर्नुभएको हो । जितसँगै बाँसबारीले आठ खेलमा १८ अंक जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा छ । यस्तै आठ खेलमा दुई अंकमात्र जोडेको पुल्चोक स्पोर्टस् क्लब लिगको पुछारमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । 

गतवर्ष नेपाल पुलिस क्लबलाई फाइनलमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको थियो । गतवर्ष मनाङले १० लाख एक हजार प्राप्त गरेको थियो भने उपविजेता पुलिसले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गरेको थियो । यसवर्षको पुरस्कार राशी भने सार्वजनिक गरिएको छैन ।


Views: 75