11th April | 2021 | Sunday | 5:53:13 PM

ओखलढुंगामा भलिबल प्रतियोगिता हुने

जीवन शर्मा   POSTED ON : फाल्गुन २१, २०७७ (८:०८ AM)

ओखलढुंगामा भलिबल प्रतियोगिता हुने

ओखलढुंगा । समुद्री सतहदेखि तीन हजार ३५० मिटरको उचाइमा रहेको ओखलढुंगाको सबैभन्दा अग्लो थोले देम्बा डाँडामा प्रथम थोले देम्बा सांस्कृतिक महोत्सव तथा भलिवल प्रतियोगिता हुने भएको छ । आगामी चैत २९ गतेदेखि वैशाख १ गतेसम्म खुला पालिकास्तरीय भलिबल प्रतियोगिता तथा महोत्सव हुने भएको हो ।

नेपाल सरकारले घोषणा गरेको सय गन्तव्यको सूचीमा पर्ने थोले देम्बामा पर्यटन पबद्र्धनका लागि महोत्सव तथा भलिवल प्रतियोगिता गर्न लागिएको आयोजक संस्था दावा एग्रो टुरिजम प्रालिका प्रो.आङदावा शेर्पाले बताउनुभयो । कार्यक्रम सम्पन्न गर्न विभिन्न शीर्षकमा नौ लाख ११ हजार खर्च हुनेनुमान गरिएको छ ।

सो खर्च स्थानीय तह र अन्य संस्था तथा व्यक्तिगत सहयोगि दाताहरूबाट व्यवस्था गर्ने लक्ष राखिएको उहाँको भनाइ छ । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः एक लाख ५० हजार र २५ हजार राशिको नगर पुरस्कारका साथ शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । इच्छुक खेलाडीहरूले यही फागुन २५ गतेदेखि चैत २५ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने समय तालिका राखिएको छ ।

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै आएको देम्बा डाँडामा गतवर्ष थोले देम्बा पर्यटकीय महोत्सव गरिएको थियो । उक्त क्षेत्रबाट सगरमाथालगायत नेपालका धेरै हिमशृंखलाहरू दृष्यावलोकन गर्न सकिन्छ । तीन हजार ३५० मिटरको उचाइमा भलिबल प्रतियोगिता गर्नु आफैंमा चुनौतीपूर्ण भए पनि यसलाई अवसरका रूपमा समेत लिन सकिने सरोकारवाला बताउनुहुन्छ । स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकुद र पर्यटन विकासका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता गराइने आयोजकले जनाएको छ । 


Views: 160