17th April | 2021 | Saturday | 11:40:01 PM

सातदोबाटोको सहज जित

  POSTED ON : फाल्गुन २२, २०७७ (९:४३ AM)

सातदोबाटोको सहज जित

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोको जितमा अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक–एक गोल गर्नुभयो । सातदोबाटोले एक गोल आत्मघाती उपहार पाएको थियो । बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गर्दा निशान सुनारले एक गोल फर्काउनुभयो ।

१९औं मिनेटमा अशिमको सातदोबाटोलाई अग्रता दिलाउनुभयो । पहिलो हाफको इन्जुरी समयमा अमृतले आत्मघाती गोल गरेपछि सातदोबाटोले अग्रता दोब्बर पार्यो । ५४ औं मिनेटमा प्रवेशको गोलसँगै टोलीले अग्रता अझै बढायो ।

खेलको ६३औं मिनेटमा दिनेशले गोल गर्दा सातदोबाटो ४–० ले अघि रहृयो । त्यसपछि खेलको ७९औं मिनेटमा बाँसबारीका निशानले एक गोल फर्काएपछि सातदोबाटोले ४–१ ले विजयी भयो । जितसँगै सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ । बाँसबारीले ९ खेलमा १८ अंक जोडेको छ । बाँसबारी तेस्रो स्थानमा रहेको छ । त्यसअघि बिहीबार भएको खेलमा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । श्री भगवती क्लबका नवराज गुरुङ र मोहनबहादुर थापा मगरले एक एक गोल गर्नुभएको हो । झम्सिखेलले एउटा आत्मघाती गोल गरेको हो । झम्सिखेलका लागि मदन स्याङ्तान र अनिश चौधरीले एक–एक गोल फर्काउनुभएको हो ।

खेलको ११औं मिनेटमा झम्सिखेलका सुनिल शाहीले आत्मघाती गोल गर्नुभएको हो । खेलको ३२औं मिनेटमा झम्सिखेलका स्याङ्तानले गोल गर्नुभएको हो । यस्तै खेलको ५६औं मिनेटमा भगवतीका गुरुङले तथा ७०औं मिनेटमा चौधरीले गोल गर्नुभएको हो । खेलको ८४औं मिनेटमा भगवतीका थापाले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ३–२ ले विजयी गराउनुभयो । 

जितसँगै भगवती नौ खेलबाट नौ अंक जोड्दै लिगको आठौं स्थानमा उक्लेको छ । यस्तै झम्सिखेल नौ खेलमा ६ अंक जोडेर एघारौं स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । 


Views: 77