11th April | 2021 | Sunday | 6:40:16 PM

सन्दीपले मेयर कपमा काठमाडौंको नेतृत्व गर्ने

  POSTED ON : फाल्गुन २२, २०७७ (९:४५ AM)

सन्दीपले मेयर कपमा काठमाडौंको नेतृत्व गर्ने

काठमाडौं । राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौंमा हुने मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर–११ को नेतृत्व गर्ने हुनुभएको छ । सन्दीपको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार काठमाडौं मेयर–११ को टोली घोषणा गरेको हो । पाकिस्तान सुपर लिग (पिएसएल) टी–ट्वान्टी क्रिकेटका लागि पाकिस्तान गएका सन्दीप शुक्रबार स्वदेश फर्किनुभएको छ ।

टियु क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । प्रतियोगिताका लागि क्यानले प्रदेश प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी समेटेर काठमाडौं मेयर–११ को टिम घोषणा गरिएको छ ।

काठमाडौं महानगरपालिकाले क्यानसँग मिलेर आयोजना गर्न लागेको प्रतियोगितामा आयोजक टिमसहित प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले खेल्ने छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।

काठमाडौं मेयर–११ मा सन्दीपसँगै सिद्धान्त लोहनी, विवेक यादव, अर्जुन कुमाल, सौरभ खनाल, विक्रम भुसाल, अनुज चुनारा, रविन्द्रजंग शाही, नारायण जोशी, हरिशंकर शाह, विपिन खत्री, कृष्ण कार्की, अनिल खरेल, सन्दीप रजाली, विपिन रावल र खडकबहादुर बोहरा छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले ५० हजार पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट व्याट्सम्यान र बलरले २५–२५ हजार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार पाउनेछन् । प्रत्येक खेलमा खेलाडीको म्याच फि २ हजार छ । खेलाडीको दुर्घटना बीमा हुनेछ ।


Views: 77