11th April | 2021 | Sunday | 7:35:36 PM

पुलिस र न्यूडाइमण्डको विजयी सुरुवात

  POSTED ON : चैत्र २०, २०७७ (९:०१ AM)

पुलिस र न्यूडाइमण्डको विजयी सुरुवात

काठमाडौं । पाँचौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विभागीय टिम नेपाल पुलिस क्लब र न्यूडाइमण्ड एकेडेमीले विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको उद्घाटन खेलमा पुरुषतर्फ नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा हराएर उपाधि दाबेदार पुलिसले विजयी सुरुवात गरेको हो । पुलिसले नयाँ बजारविरुद्ध २५–९, २५–२१ र २५–१६ को सेटमा जित निकाल्यो ।

महिलातर्फको पहिलो खेलमा न्यूडाइमण्ड स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यूडाइमण्डले ढोरपाटनविरुद्ध २५–६ २५–२ र २५–५ को सेटमा जित दर्ता गराएको छ । २६ चैतसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ तथा महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नयाँ बजार सामाजिक युवा क्लब, बुद्धटोल भलिबल क्लब, मणिमुकुन्द क्लब (बुटवल) र बुलबुले रारा क्लबको सहभागिता रहनेछ । महिलातर्फ नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, होङ्वान्जी न्यूडायमण्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद् गरी ६ टोलीको सहभागिता रहनेछ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग अवधिभर खेलाडी र अफिसियलको बीमा गरिने संघले जनाएको छ ।

प्रतियोगिताको पुरुष र महिला दुवैतर्फका विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताबाट कुनै प्रतिभावान वा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई संघको खेलाडी छनौट समितिले राष्ट्रिय टिमको प्रशिक्षणका लागि समेत छनौट गर्नसक्ने संघले जनाएको छ । प्रतियोगितालाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ ।


Views: 47