11th April | 2021 | Sunday | 7:07:59 PM

फाइनलमा न्यू डाइमण्ड र पुलिस भिड्ने

  POSTED ON : चैत्र २६, २०७७ (९:४६ AM)

फाइनलमा न्यू डाइमण्ड र पुलिस भिड्ने

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र न्यू डाइमण्ड क्लबको महिला टोली काठमाडौंमा जारी पाँचांै संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको फाइनलमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा दुवै टोलीले जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । फाइनल बिहीबार हुनेछ ।

अन्तिम लिग खेलमा न्यू डाइमण्डले बलियो टोली एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनायो । फाइनल पुग्ने क्रममा न्यू डाइमण्डले एपीएफलाई २५–२१,२६–२४,१४–२५ र २५–२१ ले पाखा लगायो । जितसँगै न्यू डाइमण्डले ५ खेलमा १३ अंक जोड्यो । न्यू डाइमण्ड शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । पुलिसले आर्मीविरुद्ध पहिलो सेटमा २६–२४ को जित निकालेको थियो । दोस्रो सेटमा पुलिसले २५–१७ को सहज जित निकाल्यो भने तेस्रो सेटमा पनि पुलिसले पछि परेको अवस्थामा पुनरागमन गर्दै २८–२६ को जित निकाल्दै फाइनलमा स्थान बनायो ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले तीन लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले एक लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार पाँच सय प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्नेछन् ।


Views: 50