16th May | 2021 | Sunday | 5:19:17 PM

सावित्रा, मण्डेकाजीसहित दर्जन खेलाडीलाई मानपदवी

  POSTED ON : चैत्र २८, २०७७ (९:१७ AM)

सावित्रा, मण्डेकाजीसहित दर्जन खेलाडीलाई मानपदवी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई सम्मानित गराउने खेलाडीहरूलाई राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमबीच विभिन्न मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नुभएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा विभूषण प्रदान गरिँदै आएको छ । यसरी सम्मानित हुनेमा आधा दर्जन बढी खेलाडीहरू हुनुहुन्छ । उहाँहरूलाई सरकारले अघिल्लो वर्ष नै यो अवार्ड दिनुपर्नेमा कोरोनाका कारण स्थगित भएको थियो ।

यसरी सम्मानित हुनेमा पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक हरि खड्का, राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सका अजितकुमार यादव, बडी बिल्डिङका महेश महर्जन, करातेका मण्डेकाजी श्रेष्ठ, नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापालगायत हुनुहुन्छ । प्रशिक्षक खड्का र खेलाडी भण्डारी प्रवल जनसेवाश्री चतुर्थबाट र ब्याटमिन्टन खेलाडी दाहाल, यादव, श्रेष्ठ र महर्जन प्रवल जनसेवाश्री पञ्चमबाट सम्मानित हुनुभएको हो ।

सन् १९९५ देखि २००५ सम्म खड्काले नेपालका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्नुभएको थियो । उहाँले राष्ट्रिय टोलीबाट सर्वाधिक १३ गोल गर्नुभएको छ । उहाँ राष्ट्रिय महिला टोलीको पूर्व प्रशिक्षकसमेत हुनुहुन्छ । उहाँको प्रशिक्षणमा नेपाली महिला टोलीले साफ च्याम्पियनसिप र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो ।

भण्डारी नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान राष्ट्रिय महिला खेलाडी हुनुहुन्छ । उहाँले हालसम्म ३८ अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ । उहाँ एपीएफ टोलीबाट घरेलु फुटबल खेल्ने गर्नुहुन्छ । ब्याटमिन्टनका प्रिन्स दाहाल हाल जुनियर बरियतामा विश्व नम्बर तीन खेलाडी हुनुहुन्छ । करातेका मण्डेकाजी श्रेष्ठ १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता खेलाडी हुनुहुन्छ ।

गत वर्ष विभूषण समितिको सिफारिशमा मानपदवीतर्फ महाउज्ज्ववल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट एक सय १२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट दुई सय, जनसेवाश्री प्रथमबाट एक सय १०, अलंकारतर्फ एक सय ५५ र पदकतर्फ २८ गरी छ सय ३३ लाई विभूषित गरिने घोषणा भएको थियो । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि चार सय ५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि शुक्रबारै सुशोभन गरिएको छ । शुक्रबार बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गरिनेछ ।

विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री र्ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिश गरेको हो । समितिमा प्राडा मीना वैद्य, प्राडा इन्द्रजित राई, कलाकार हरिहर शर्मा, इञ्जिनियर काशेन्द्रप्रसाद यादव, उपरथी विनोदकुमार श्रेष्ठ सदस्य रहनुभएको थियो ।


Views: 148