18th May | 2021 | Tuesday | 6:26:31 AM

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबलको तालिका सार्वजनिक

निरोज कोइराला   POSTED ON : चैत्र २८, २०७७ (४:४७ PM)

 चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबलको तालिका सार्वजनिक

भोजपुर  । भोजपुरमा सदरमुकामको स्थानीय टुँडिखेलमा आगामी बैशाख ५ गतेबाट संचालन हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । 

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा संचालन हुने लागेको प्रतियोगितामा अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन सहित ८ वटा टिमले सहभागिता जनाउने भोजपुर जिल्ला फुटवल संघका महासचिव तथा प्रतियोगिताका खेल संयोजक सफल किरातले जानकारी दिनु भयो । प्रतियोगितामा सहभागी अन्य टिमहरुमा आयोजक भोजपुर फुटबल क्लब, धरान फुटबल क्लब सुनसरी, सगरमाथा युथ क्लब मोरंग, धनकुट्टा फुटबल क्लब, धनकुट्टा, रेडहर्ष फुटबल क्लब इलाम, भगवती स्पोर्टस क्लब खोटाङ गोर्खा ब्याइज क्लब, रूपन्देही रहेका छन । 

प्रतियोगिता अन्तर्गत प्रतिस्पर्धा गर्ने टिमहरुको खेल तालिका समेत सार्वजनिक गरिएको संयोजक किरातले बताउनु भयो । उहाँका अनुसार बैशाख ५ गतेबाट ११ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गतका खेलहरु प्रत्येक दिन एउटा खेल संचालन हुने छन । 

पहिलो खेल बैशाख ५ गते भगवती स्पोर्टस क्लब खोटाङ र धरान फुटबल क्लब सुनसरीका बिचमा हुने छ । यसैगरी दोश्रो खेल सगरमाथा युथ क्लब मोरंग र आयोजक भोजपुर फुटबल क्लबका बिच बैशाख ६ गते हुने छ । तेश्रो खेल अफ्रिकन रुटस एसोसिएशन क्यामरुन र धनकुटा फुटवल क्लबका बिचमा ७ गते र चौथो खेल रेडहर्ष फुटबल क्लब इलाम र गोर्खा ब्याइज क्लब रूपन्देहीका बिच बैशाख ८ गते हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले बताउनु भयो । 

भोजपुर नगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधि सहित नगद ५ लाख हात पार्ने छ भने उपविजेताले ३ लाख प्राप्त गर्ने छ । प्रतियोगिताको फाइनल खेल भने बैशाख ११ गते हुने छ । करिव ३४ लाखको लागतमा हुने फुटवल प्रतियोगितामा भोजपुर नगरपालिकाबाट २५ लाख, भोजपुर जिल्ला फुटवल संघबाट ५ लाख र अन्य ४ लाख भने बिभिन्न क्षेत्रबाट सहयोग मागिने आयोजकले जनाएको छ । 

गोल्डकप सम्पन्न भए लगतै जिल्ला लिग र तेस्रो महिला मेयरकप फुटबल प्रतियोगिता संचालन हुने भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष सुवालले बताउनु भयो ।


Views: 330