16th May | 2021 | Sunday | 6:20:06 PM

ललितपुरमा क्रोएसियन खेलाडी

  POSTED ON : चैत्र ३०, २०७७ (९:५७ AM)

ललितपुरमा क्रोएसियन खेलाडी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टोली ललितपुर सिटी एफसीले क्रोएसियन खेलाडीलाई टोलीसँग अनुबन्ध गरेको छ । आगामी वैशाख ११ गतेदेखि हुन लागेको लिगका लागि ललितपुर सिटी एफसीले क्रोएसियन फरवार्ड भिलिम पोनिस्कोभिकलाई भित्र्याएको हो ।

लिगमा एक टोलीले तीनजना विदेशी खेलाडी अनुबन्ध गर्न सक्ने व्यवस्था थियो । जसअन्तर्गत भाटभटेनी सुपर मार्केटको स्वामित्वमा रहेको टोली ललितपुरले क्रोएसियन खेलाडीलाई अनुबन्ध गरेको हो । पोनिस्कोभिकसँग युरोपेली क्लबबाट खेलेको अनुभव पनि छ । उहाँले पछिल्लो समय बोस्निया हर्जगोभिनाको शीर्ष डिभिजनको लिग खेल्नुभएको थियो ।

ललितपुरका प्रशिक्षक प्रदीप हुमागार्इंले विदेशी खेलाडीको आगमनले टोली थप सशक्त भएको बताउनुभयो । उहाँले पोनिस्कोभिकसँग युरोपियन फुटबलको अनुभवसमेत रहेकाले टोलीका अन्य खेलाडीले थुप्रै कुरा सिक्न पाउनेसमेत विश्वास व्यक्त गर्नुभयो । उहाँ सेन्टर फरवार्डका रूपमा टोलीसँग अनुबन्ध हुनुभएको हुमागार्इंले बताउनुभयो ।

ललितपुर सिटीले यसअघि नै राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ । त्यसबाहेक ललितपुरले अक्सनमार्फत् मिक्छेन तामाङ, नवीन लामा, विनोद गुरुङ, प्रवेश दनुवार, कमल श्रेष्ठ, एरिक विष्ट, विमल राना, रोहित कार्की, सरोज योञ्जन, रञ्जन विष्ट, निरज बस्नेत, पल्साङ लामा, गौरव बुढाथोकी र अर्पन कार्कीलाई टिममा आबद्ध गरिसकेको छ ।

वैशाख ११ गतेबाट सुरु हुने नेपाल सुपर लिग २५ गतेसम्म चल्नेछ । नेपाल स्पोट म्यानेजमेण्ट एण्ड इभेन्ट कम्पनीले आयोजना गर्ने प्रतियोगितामा सात टिम सहभागी छन् । जसमा ललितपुरसँगै काठमाडौं रेजर्स, बुटवल लुम्बिनी एफसी, विराटनगर सिटी एफसी, चितवन एफसी, धनगढी एफसी र पोखरा एफसी रहेका छन् । 


Views: 93