16th May | 2021 | Sunday | 5:39:07 PM

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी

  POSTED ON : चैत्र ३१, २०७७ (७:४३ AM)

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको सोमबार एक कार्यक्रमबीच नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी एक वर्षका लागि नयाँ प्रायोजक सम्झौता गरेसँगै राष्ट्रिय क्रिकेट टोलीको जर्सी फेरिएको हो ।

क्यानले राष्ट्रिय क्रिकेट टोलीको जर्सीसम्बन्धी सम्पूर्ण व्यावसायिक अधिकार एडप्याडले आएनजी ग्रुपको ‘माइ स्कुल टिचर’लाई दिएको छ । एडप्याडले निर्माण गरेको जर्सी नेपाली टोलीले २०२२ मार्चसम्म प्रयोग गर्नेछ । क्यान र एडप्याडबीच गत जनवरीमै सम्झौता भएपछि कोरोनाका कारण सोमबार उक्त सम्झौता सार्वजनिक गरिएको हो ।

अर्को साता त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा सुरु हुने त्रिदेशीय प्रतियोगिताअघि क्यानले नयाँ जर्सी सार्वजनिक गरेको हो । जर्सीमा मुख्य गरी आकाशे रङ (निलो) र रातो रङको प्रयोग गरिएको छ । हातको बाउला, घाँटीको कलर र टी–सर्टको तल्लो भागमा निलो रङ प्रयोग गरिएको छ । यस्तै टी–सर्टको माथिल्लो भाग र हिमाल अंकित तस्वीरमा रातो रङ प्रयोग गरिएको छ ।

जर्सीमा बीचमा सेतो अक्षरमा नेपाल लेखिएको छ । त्यसको ठीक माथि मुख्य स्पोन्सर माइ सेकेण्ड टिचरको लोगो राखिएको छ । जर्सीको एकातिर क्यान र अर्कातिर प्रायोजकको लोगो छ । माइ स्कुल टिचरका सहसंस्थापक सुलभ बुढाथोकीले राष्ट्रिय टोलीसँग सहकार्य गर्नपाउनु गौरवको विषय रहेको बताउँनुभयो ।

‘नेपालमा क्रिकेट लोकप्रिय छ । क्रिकेटको विकासका लागि निजी क्षेत्रले पनि लगानी बढाउँनुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले क्रिकेटको विकासका लागि लगानी गरेका छौं । आगामी दिनमा नेपाली टोलीले थप राम्रो नतिजा ल्याउने विश्वास गरेका छौं ।’ क्यानले मुख्य प्रायोजकसँगको सम्झौता रकम भने खुलाइएको छैन । जर्सी सार्वजनिक गर्दै कप्तान ज्ञानेन्द्र मल्लले नयाँ प्रायोजकलाई धन्यवाद दिँदै आफूहरूले सक्दो राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताउनुभयो । ‘नेपाली क्रिकेटको सम्भावना बढी छ । आगमी दिनमा लगानी अझ बढीहोस् । नयाँ जर्सीका साथ मैदान उत्रन आतुर छ’, ज्ञानेन्द्रले भन्नुभयो ।

सीजीको साथ

यस्तै यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सञ्चालनका लागि वाईवाईले मुख्य प्रायोजन गर्ने भएको छ । चौधरी ग्रुप (सिजी)ले क्यानले आयोजना गर्ने यु–१९ पुरुष क्रिकेट टोलीको मुख्य प्रायोजनका लागि पाँच वर्षे सम्झौता गरेको हो । क्यान र चौधरी ग्रुपबीच सोमबार सम्झौता भएको थियो । सोमबार एक कार्यक्रमबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भाना चौधरी र क्यान अध्यक्ष चतुरबहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार चौधरी ग्रुपले वार्षिक क्यानलाई ७० लाख रुपैयाँ प्रदान गर्नेछ । हरेक दुई वर्षमा दश प्रतिशत रकम वृद्धि हुने सम्झौतामा उल्लेख छ । यो रकम पुरुष यु–१९ क्रिकेटको घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रयोग हुनेछ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले निजी संस्थाको सहयोगबिना क्रिकेटमा कार्यक्रम गर्न सम्भव नभएको भन्दै चौधरी ग्रुपले साथका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।


Views: 98