16th May | 2021 | Sunday | 1:51:49 AM

पाँच वर्षपछि घरेलु फुटबलमा पुनरागमन गर्दै किरण

  POSTED ON : बैशाख ३, २०७८ (८:५९ AM)

पाँच वर्षपछि घरेलु फुटबलमा पुनरागमन गर्दै किरण

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेञ्जोङले पाँच वर्षपछि घरेलु फुटबलमा पुनरागमन गर्ने तयारी गर्नुभएको छ । किरणले आगामी वैशाख ११ गतेदेखि सुरु हुने नेपाल सुपर लिग फुटबलबाट पुनरागमन गर्न लाग्नुभएको हो ।

२०७२ सालमा मनाङ मस्र्याङ्दी क्लबबाट ‘ए’ डिभिजन लिग खेलेपछि उहाँ लगातार विदेशी लिगमा व्यस्त हुनुहुन्थ्यो । नेपाल सुपर लिगको फ्रेन्चाइज क्लब धनगढी फुटबल क्लबले किरण चेम्जोङलाई आइकोनिक खेलाडीको रूपमा अनुबन्धन गरेसँगै उहाँले घरेलु फुटबलमा पुनरागमन गर्न लाग्नुभएको हो । ‘पाँच वर्षपछि लिगमा पुनरागमन गर्न लाग्दा उत्साहित छु,’ किरणले धनगढीसँगको सम्झौता कार्यक्रममा भन्नुभयो, ‘फ्रेन्चाइजी फुटबलले नेपाली फुटबललाई नयाँ मोड दिएको छ । मैले पनि सक्दो राम्रो गर्दै टोलीमा पोजिटिभ छाप छाड्ने प्रयास गर्नेछु ।’

२०६३ सालमा मछिन्द्र क्लबबाट ‘ए’ डिभिजन लिग खेल्न सुरु गर्नुभएका किरणले २०६४ देखि २०७२ सम्म थ्रीस्टार क्लबबाट खेल्नुभएको थियो । २०७२ मा मनाङ–मस्र्याङ्दी खेल्दै उहाँ माल्दिभ्सको टीसी स्पोर्टस क्लब खेल्न जानुभभएको थियो । जहाँ उहाँले दुई सिजन बिताउनुभयो ।

२०१८ देखि उहाँ भारतको आइलिग फुटबल क्लब मिनरेवा पञ्जावसँग अनुबन्ध हुनुभयो । त्यसयता उहाँले पञ्जावमा तीन सिजन बिताइसक्नुभएको छ । उहाँले २०६९ सालमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि उचाल्नुभएको थियो । यस्तै २०७१–७२ मा राष्ट्रिय लिग, २०१८ मा माल्दिभ्सको धिवेही प्रिमियर लिग र सोही वर्ष भारतको आइलिग जित्नुभएको थियो । तीन देशको लिग जित्ने उहाँ पहिलो खेलाडीसमेत हुनुहुन्छ ।

अघिल्लो सातामात्रै उहाँको कप्तानीमा नेपालले दशरथ रंगशालामा थ्री नेसन्स कपको उपाधि जितेको थियो । किरणको कप्तानीमा नेपालले जितेको यो नै पहिलो उपाधि हो । जसक्रममा समूह चरणमा किर्गिस्तान–२३ र बंगलादेशलाई किरणले एक गोल पनि गर्न दिनुभएको थिएन । यता फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो ।

उक्त उपाधि जितेसँगै किरण एसियाकै उत्कृष्ट खेलाडी चुनिनुभएको थियो । जुन नेपाली फुटबल खेलाडीले हालसम्म हासिल गरेको सबैभन्दा उच्च सम्मानसमेत हो । एसियाली फुटबल महासंघ (एएफसी) ले एसिया क्षेत्रका खेलाडीलाई समेट्दै साताको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । अनलाइन भोटिङका आधारमा किरण एसियलाी ‘प्लेयर अफ द विक’मा छानिनुभएको हो ।

किरणले धनगढीको प्रस्तावबाट प्रभावित भएर आफू टोलीसँग अनुबन्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खेलाडीका लागि फाइनान्सिल कुरो पनि महŒवपूर्ण हो । धनगढीले गरेको प्रस्ताव चित्त बुझ्दो थियो र मैले यो टिम छाने । टोलीमा विदेशी खेलाडी झनै राम्रो होस् । हाम्रो लक्ष्य सबै खेल जित्ने हुनेछ । तर, तयारीका लागि समय थोरै छ । कोरोनाको समयमा पनि प्रतियोगिता खेल्न पाएकोमा निकै खुशी छौ ।’

 प्रशिक्षकमा राई

यस्तै धनगढीले प्रशिक्षकमा युगल किशोर राईलाई अनुबन्ध गरेको छ । राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य राईले एएफसीको ए लाईसेन्स प्राप्त गर्नुभएको छ । धनगढीले यसअघि विदेशी प्रशिक्षकका रूपमा तोपे फुजालाई अनुबन्ध गरिसकेको छ ।

नवनियुक्त प्रशिक्षक राईले फुजासँग मिलेर काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आइकोनिक खेलाडीमा किरण र मार्की खेलाडीमा विशाल छन् । हामीसँग अब तयारी कम छ । तर, हामी राम्रो फुटबल खेल्ने प्रयास गर्ने छौ । फुजासँगै मिलेर काम गर्ने छांै ।’

ग्रो ड्रिमर्सको स्वामित्व रहेको धनगढी एफसीका मालिक सुबास शाहीले किरण र राईको आगमनसँगै टोली पूर्ण भएको बताउनुभयो । अहिलेका हट केक खेलाडी किरणलाई अनुबन्ध गर्न पाउँदा उहाँले खुशी व्यक्त गर्नुभयो । किरणको आगमनले टोली निकै बलियो र प्रतिस्पर्धी बन्नेमा उहाँको विश्वास थियो ।

 


Views: 121