16th May | 2021 | Sunday | 7:26:07 PM

नेदरल्याण्ड्सको सामना गर्न तयार नेपाल

  POSTED ON : बैशाख ४, २०७८ (१०:५७ AM)

नेदरल्याण्ड्सको सामना गर्न तयार नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा आजबाट सुरु हुने नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटअन्तर्गत उद्घाटन खेलमा नेपालले नेदल्याण्ड्सको सामना गर्दैछ । कोरोना महामारीपश्चात् घरेलु मैदानमा नेदरल्याण्ड्सको आतिथ्यता गर्न नेपाली टोली तयार छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पत्रकार सम्मेलनमार्फत् नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याण्ड्सका पिटर सिलार र मलेसियाका कप्तान फैज अहमदसँगै शृंखलाको ट्रफीसमेत सार्वजनिक गरिसकेको छ ।

नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा यसअघि नै शृंखलाका लागि १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी हुनुहुन्छ ।

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले तयारीको समय छोटो भए पनि सबै खेलाडी राम्रो लयमा रहेको र उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने बताउनुभयो । ‘क्रिकेटमा नतिजा कस्तो आउला अनुमान गर्न गाह्रो हुन्छ । हामीले राम्रो क्रिकेट खेल्नुपर्छ,’ ज्ञानेन्द्रले भन्नुभयो, ‘टी–ट्वान्टीमा सबै टोली उस्तै–उस्तै हुन्छ । जसले आवश्यकताअनुसार खेल्छ उसले नै जित्ने हो । हाम्रो टिम जुन किसिमले बनेको छ, त्यसले हामी अझ बलियो छांै जस्तो लाग्छ ।’

आइसीसीको बरीयतामा नेदरल्याण्ड्सभन्दा नेपाल दुई स्थान माथि छ । नेपाल आइसीसी टी–ट्वान्टी बरीयतामा १५औं स्थानमा छ भने नेदरल्याण्ड्स १७औं स्थानमा छ । नेदरल्याण्ड्स तीनपटक टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाइसकेको टोली हो । नेपालले भने २०१४ मा एकपटकमात्रै टी–ट्वान्टी विश्वकप खेलेको छ । त्यही वर्ष नै नेपालले पहिलोपटक टी–ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता पाएको थियो ।

नेपालले सर्वाधिक टी–ट्वान्टी नेदरल्याण्ड्सविरुद्ध खेलेको छ । हालसम्म नेपालले नेदरल्याण्ड्ससँग आठ टी–ट्वान्टी खेल खेलेको छ । जसमा छ टी–ट्वान्टी अन्तर्राष्ट्रिय रहेको छ भने दुई टी–ट्वान्टी खेल छ । नेपालले आठ खेलमध्ये दुई टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्याण्ड्सले पाँच खेलमा दुई टी–ट्वान्टी र तीन अन्तर्राष्ट्रियमा जित निकालेको छ ।

नेपाल र नेदरल्याण्ड्सको अन्तिम भेट ओमानमा भएको पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी सिरिजमा भएको थियो । जुन खेलमा नेपालले नेदरल्याण्ड्सलाई चार विकेटले पराजित गरेको थियो । त्यसपछि यी देशबीच भिडन्त हुन लागेको यो नै पहिलोपटक हो ।

पारसले शृंखला गुमाउने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा मुख्य ब्याट्सम्यान पारस खड्काले भने शृंखला गुमाउनुहुने भएको छ । गत आइतबार फिल्डिङ गर्नेक्रममा दायाँ हातको काँधमा चोट लागेका कारण उहाँले शृंखला गुमाउनुहुने भएको हो । अभ्यास खेलमा क्याच लिनेक्रममा उहाँलाई चोट लागेको थियो । पारसले दुईदेखि तीन हप्ता आराम गर्नुपर्ने भएको छ । 

डबल राउण्ड रोबिनका आधारमा हुने उक्त प्रतियोगितामा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ । 


Views: 69