16th May | 2021 | Sunday | 2:52:18 AM

भोजपुर गोल्डकप फाइनल : क्यामरुनलाई हराउँदै रुपन्देही बन्यो बिजेता

निरोज कोइराला   POSTED ON : बैशाख ११, २०७८ (६:३८ PM)

 भोजपुर गोल्डकप फाइनल : क्यामरुनलाई हराउँदै रुपन्देही बन्यो बिजेता

भोजपुर  । प्रदेश १ को पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा संचालन भएको सर्वाधिक राशीको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत शनिवार भएको फाइनल खेलमा क्यामरुनलाई हराउँदै रुपन्देही बिजेता बन्न सफल भएको छ । 

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा १ गोलले बाहिरी पाहुना टोली अफ्रिकन रुट्स एशोसियसन क्यामरुनलाई पराजित गर्दे चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकपको उपाधी नेपाली टिम गोर्खा ब्वाइज क्लव रुपन्देहीले जित्न सफल भएको हो । 

खेलको निर्धारित ९० मिनेटको खेलमा दुवै टिमका तर्फबाट कुनै पनि गोल हुन नसके पछि थप गरिएको अतिरिक्त समयको छैटो मिनेटमा गोर्खा ब्वाइज क्लव रुपन्देहीका तर्फबाट जर्सी नम्वर १३ का पेपेले गोल गरेका थिए । पेपेले गरेको सोही १ गोल रुपन्देहीका लागि निर्णायक बन्न पुग्यो । फाइनल खेलको म्यान अफ दि म्याच समेत पेपे बनेका छन । 

गत बैशाख ५ गतेबाट ३४ लाख बरावरको लागतमा शुरु सर्वाधिक राशीको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप अन्तर्गत बिजेता गोर्खा ब्वाइज क्लव रुपन्देहीले नगद ५ लाख र उपबिजेता अफ्रिकन रुट्स एशोसियसन क्यामरुनले ३ लाख प्राप्त गर्न सफल भएको छ । 

भोजपुर जिल्ला फुटवल संघको आयोजनामा भएको गोल्ड कप प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले २५ लाख दिएर मुख्य प्रायोजक बनेको छ भने नगद १ लाख दिएर सहप्रायोजक बनेको छ । आयोजकले नगद ५ लाख प्रतियोगिताका लागि प्रदान गरेको छ । 

घरेलु मैदानमा भएको ठुलो राशीको प्रतियोगिता हेर्न भोजपुर आसपासका साथै गाउँबाट समेत दर्शकहरुको घुईचो लागेको थियो । दर्शकको घुईचो बढी रहँदा प्रतियोगितामा कोरोना जोखिमलाई ध्यानमा दिएर आयोजकले मास्क समेत निशुल्क बितरण गरेको थियो । 

प्रतियोगितामा अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनको टिम सहित आयोजक भोजपुर फुटबल क्लब, धरान फुटबल क्लब सुनसरी, सगरमाथा युथ क्लब मोरंग, धनकुटा फुटबल क्लब, धनकुटा, रेडहर्ष फुटबल क्लब इलाम, भगवती स्पोर्टस क्लब खोटाङ गोर्खा ब्याइज क्लब, रूपन्देही गरी ८ वटा टिमले सहभागिता जनाएका थिए । 



 


Views: 122