16th May | 2021 | Sunday | 2:49:10 AM

धनगढीविरुद्ध विराटनगरको सानदार जित

  POSTED ON : बैशाख १३, २०७८ (८:३२ AM)

धनगढीविरुद्ध विराटनगरको सानदार जित

काठमाडौं । नेपाल सुपर लिगमा धनगढीमाथि विराटनगरले सानदार जित हात पारेको छ । आइतबार भएको दुवै टोलीको पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३–० को सानदार जित निकाल्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन विक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक÷एक गोल गर्नुभयो । विराटनगरले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल थपेको थियो ।

खेलको १६औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र धनगढीका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा विक्रमले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । खेलको ५७औं मिनेटमा सोमिडेले निरकुमार राईको पासमा गोल गर्दै विराटनगरको अग्रता दोब्बर पार्नुभयो । खेलको ६९औं मिनेटमा सन्तोषले सुनिल बलको पासमा गोल गर्दै विराटनगरलाई ३–० को जित दिलाउनु भएको थियो ।

धनगढीका खेलाडीले पटकपटक पाएका मौका गुमाएका थिए । लगत्तै २३औं मिनेटमा निशान खड्काको क्रस बाहिरिएको थियो । खेलको ६२औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोलको अवसर खेर फाल्नुभयो । गोलकिपर बिट भईसकेको अवस्थामा उहाँले कठिन कोणबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको ८९औं मिनेटमा धनगढीका निशान सुनारले पेनाल्टी क्षेत्रबाट गोल गर्न सक्नुभएन । उहाँको प्रहार बाहिरिएको थियो । खेलको इन्जुरी समयमा धनगढीका ओलावालेको प्रहार विराटनगरका गोलकिपर किशोर गिरिले बचाउनुभयो । खेलको म्यान अफ दि म्याच विराटनगरका सन्तोष तामाङ चुनिनुभयो । उहाँले २५ हजार प्राप्त गर्नुभयो । खेलको प्रोमोसिङ प्लेयर अफ दि म्याच विराटनगरकै निरकुमार राई चुनिनुभयो । उहाँले १० हजार हजार नगद प्राप्त गर्नुभयो ।

जितसँगै विराटनगरले तीन अंक जोडेको छ । धनगढीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । जितपछि विराटनगरका मुख्य प्रशिक्षक यान ल खुशी व्यक्त गर्नुभयो । ‘धनगढी प्रतिद्वन्द्वी बलियो थियो । तर, हाम्रा खेलाडीले राम्रो खेले । समयमा गोल निस्कियो । तीन गोल र तीन अंकले खुसी छु,’ भारतीय प्रशिक्षक यानले भन्नुभयो, ‘कम समयको तयारीकाबीच नौलो प्रतिद्वन्द्वीसँगको प्रदर्शन प्रशंशनीय छ । हामी यसैलाई निरन्तरता दिन चाहन्छौं ।’ 

धनगढीका मुख्य प्रशिक्षक युगल किशोर राईले आफ्नो टिम फुटबलको सबै पक्षमा चुकेको बताउनुभयो । ‘फुटबलको दुबै पक्षमा चुक्यौ । गोल गर्न नि सकेनौ । रोक्न नि सकेनौं,’ उहाँले भन्नुभयो, ‘अवसर सदुपयोग हुन सकेन । प्राविधिक रूपमा राम्रै थियौ । त, फुटबलमा निकै कम अवसर प्राप्त हुन्छ । विराटनगरले धेरै राम्रो खेल्यो । तीन शून्यको हार निकै ठूलो हार हो ।’

नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग जारी प्रतियोगितामा सात शहरका सात टोलीको सहभागिता छ । प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन् । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही एक लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि एक लाख रुपैयाँ हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् ।


Views: 66