16th May | 2021 | Sunday | 2:01:56 AM

नेपाल सुपर लिग : धनगढी र ललितपुरले अंक बाँडे

  POSTED ON : बैशाख १७, २०७८ (८:३६ AM)

नेपाल सुपर लिग : धनगढी र ललितपुरले अंक बाँडे

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलअन्तर्गत बिहीबार साँझ भएको खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाँडेका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन् ।
धनगढीका लागि ओलावाले आफिजले गोल गर्नुभयो भने ललितपुरका रञ्जन विष्टले एक गोल फर्काउनुभएको थियो । पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा दुवै गोल सम्भव भएको थियो । यद्यपि पहिलो हाफमा पाएको पेनाल्टीको मौका सदुपयोग गर्न नसक्दा ललितपुर तीन अंक जोड्नबाट चुक्यो ।
खेलको ७२औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाउनुभएको थियो । ललितपुरका खेलाडीलाई लाग्दै आएको बलमा अनमार्क रहेका ओलावाले हेडमार्फत् गोल गर्नुभएको थियो ।
तर, ७९औं मिनेटमा भर्खरै मैदान छिर्नुभएका रञ्जन विष्टले गोल गर्दै ललितपुरलाई १–१ गोलको बराबरीमा ल्याउनुभयो । डिबक्सको दायाँ क्षेत्रबाट रञ्जनले गरेको प्रहार धनगढीका दिनेश राजवंशीलाई लाग्दै गोलमा परिणत भएको थियो ।
त्यसअघि खेलको पाँचांै मिनेटमा अञ्जन विष्टले गोल गरेपछि रेफ्रीले त्यसलाई अफसाइड दिनुभयो । खेलको २७औं मिनेटमा डिबक्सबाहिरबाट ललितपुरका इरिक विष्टको लामो प्रहार पोष्टको नजिकबाट बाहिरिएको थियो । ४२औं मिनेटमा ललितपुरका कप्तान अञ्जन विष्टको प्रहार गोलकिपर किरण चेम्जोङ बिट भएको अवस्थामा धनगढीका डिफेन्डर निशान खड्काले क्लियर गर्नुभएको थियो ।
खेलको ४४औं मिनेटमा ललितपुरले सुन्दर पेनाल्टीको मौका गुमायो । धनगढीका कप्तान किरणले पेनाल्टी एरियामा विपक्षी कप्तान अञ्जनमाथि फल गरेपछि रेफ्रीले ललितपुरलाई पेनाल्टी दिनुभएको थियो । जसमा ललितपुरका विदेशी खेलाडी नुर्लानको जाहिदले गरेको प्रहारमा धनगढीका किपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्नुभयो ।
पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३–० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । धनगढीले यो खेलसँगै तीन खेलमा चार अंक जोडेको छ ।
ललितपुरको भने यो दोस्रो बराबरी हो । ललितपुरले तीन खेलमा दुई अंक जोडेको छ । ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा ललितपुरले एफसी चितवनसँग १–१ गोलको बराबरी खेलेको थियो ।
खेलमा धनगढीका रक्षक दिनेश राजवंशी प्लेयर अफ दि म्याच चुनिनुभयो । त्यसबापत उहाँले २५ हजार नगद प्राप्त गर्नुभयो । खेलको प्रोमोसिङ प्लेयर अफ दि म्याचको अवार्ड ललितपुरका निरज बस्नेतले जित्नुभयो । उहाँले १० हजार प्राप्त गर्नुभयो ।
नेपाल स्पोर्टस् म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगितामा सात शहरका सात टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । राउन्ड रोबिनका आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही एक लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि एक लाख रुपैयाँ हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउनेछन् ।


Views: 66