15th June | 2021 | Tuesday | 9:57:20 AM

नेपाल सुपर लिग : नौ गोल भएको रोमाञ्चक खेल जित्दै काठमाडौं प्लेअफमा

  POSTED ON : बैशाख २४, २०७८ (१०:०२ AM)

नेपाल सुपर लिग : नौ गोल भएको रोमाञ्चक खेल जित्दै काठमाडौं प्लेअफमा

काठमाडौं । ९ गोल भएको खेलमा रोमाञ्चक जित हात पार्दै काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो ।
काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक प्रहार गर्नुभयो । जुन प्रतियोगिताको पहिलो ह्याट्रिकसमेत हो । यस्तै स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक–एक गोल गर्नुभयो । विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काउनुभयो भने एडिलाजा सोमिडे र रन्जित धिमालको नाममा एक–एक गोल रह्यो  ।
जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेको छ । यससँगै काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । यसअघि धनगढी प्लेअफमा पुगिसकेको छ । विराटनगरले ५ खेलमा ७ अंक जोडेको छ । विराटनगरको पनि प्लेअफ सम्भावना रहेको छ ।
पहिलो हाफमा २–० ले पछि परेको अवस्थामा काठमाडौंले सानदार पुनरागमन गर्दै अग्रता लिएको थियो । काठमाडौंका विदेशी खेलाडी मेसौके ओलुमोउले दुई मिनेटको अन्तरमा दुई गोल र स्टेफन विनोङ समिरले एक गोल गर्नुभएपछि काठमाडौं पुनरागमन गर्न सक्षम भएको थियो ।
खेलको छैटौं मिनेटमा नाइजेरियन खेलाडी एडेलाजा सोमेडेको गोलबाट विराटनगर सिटी एफसीले अग्रता लिएको थियो । रन्जित धिमालको क्रसमा एडेलाजाले गोल गर्नुभएको थियो । ३३औं मिनेटमा विराटनगरका अर्का विदेशी खेलाडी पेड्रो मान्जीको गोलबाट विराटनगरले अग्रता दोब्बर पा¥यो । सन्तोष तामाङको पासमा मान्जीले अफसाइड बिट ट्याप गर्दै गोलरक्षक विकेश कुथ अघि बढेको अवस्थामा गोल गर्न सफल हुनुभएको थियो ।
त्यसपछि ६ मिनेटको अन्तरमा काठमाडौंले तीन गोल ग¥यो । ३५औं मिनेटमा मेसौके ओलोउमोउले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउनुभयो । लगत्तै विनोङको पासमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ को अवस्थामा पुग्यो । ४१औं मिनेटमा स्टेफेन विनोङ समिरले फ्रिकिकबाट सिधै गोल गर्दै काठमाडौंलाई ३–२ को अग्रता दिलाउनुभएको थियो ।
६८औं मिनेटमा मैसोकेले दुई डिफेन्डरलाई छलाउँदै डिबक्सभित्रबाट प्रहार गर्दै ह्याट्रिक पूरा गर्नुभयो । उहाँको तेस्रो गोलसँगै काठमाडौं ४–२ ले अघि बढेको थियो । त्यसको दश मिनेटपछि विराटनगरका कप्तान रन्जित धिमालले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याउनुभयो । उहाँले सन्तोष तामाङको पासमा गोल गर्नुभएको थियो ।
तर, ८३औं मिनेटमा छिरिङ गुरुङले मेसौकेको पासमा गोल गर्नुभएपछि काठमाडौं जिततर्फ अघि बढेको थियो । इन्ज्युरी समयमा पेड्रो मान्जीले एक गोल फर्काएपछि खेल ५–४ को अवस्थामा टुंगियो ।

ललितपुरको पहिलो जित
ललितपुर सिटी एफसीले प्रतियोगितामा बिहीबार बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो जित निकालेको हो । ललितपुरको जिमा विदेशी खेलाडी नुर्लान नोब्रुजुभ जाहिदले निर्णायक गोल गर्नुभएको थियो । खेलको पाँचां मिनेटमा स्ट्राइकर नुर्लान नोब्रुजुभ जाहिदले हेडमार्फत् गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाउनुभएको थियो । जुन गोल खेलको निर्णायक बन्यो ।
खेलमा ललितपुरका कप्तान अन्जन विष्ट प्लेयर अफ दि म्याच चुनिनुभयो । उहाँले २५ हजार नगद प्राप्त गर्नुभयो । यस्तै खेलको इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरका मिक्छेन तामाङ चुनिनुभयो । उहाँले १० हजार नगद प्राप्त गर्नुभयो । जितसँगै ललितपुर लिगको चौथो स्थानमा उक्लिएको छ । ललितपुरले ५ खेलमा ६ अंक जोडेको छ । जितपछि ललितपुरले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । बुटवल भने लिगको पाँचौं स्थानमा झरेको छ । बुटवलले ५ खेलमा ५ अंक जोडेको छ ।
नेपाल स्पोर्ट्स म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगितामा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैयाँ हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउनेछन् ।


Views: 107