15th June | 2021 | Tuesday | 9:29:58 AM

लिगको शीर्षमा रहँदै काठमाडौं प्लेअफमा

  POSTED ON : बैशाख २७, २०७८ (८:४९ AM)

लिगको शीर्षमा रहँदै काठमाडौं प्लेअफमा

काठमाडौं । काठमाडौं रेजर्स राउन्ड रोबिनको शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा प्ले अफमा प्रवेश गरेको छ । आइतबार भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक÷एक गोल गर्नुभयो भने चितवनका राजिब लोप्चनले एक गोल फर्काउनुभएको थियो ।

खेलको १६औं मिनेटमा काठमाडौंले मेसौके ओलुमोउले गोलबाट अग्रता लिएको थियो । विश्वास उदासको लामो पासलाई नियन्त्रणमा लिदै मेसौकले चितवनका दुई डिफेन्डरलाई छलाउँदै गोलरक्षकलाई पनि बिट गरेर उत्कृष्ट गोल गर्नुभएको थियो । जारी लिगमा उहाँको यो पाँचौ गोल पनि हो । उहाँले यसअघि विराटनगर सिटी एफसीविरुद्ध ह्याट्रिक गर्नुभएको थियो । उहाँ प्रतियोगितामा ह्याट्रिक गर्ने एक मात्रै खेलाडी हुनुहुन्छ । उहाँले ह्याट्रिक गरेको खेलमा काठमाडौंले विराटनगर सिटी एफसीलाई ५–४ गोलअन्तरले पराजित गरेको थियो ।

३३औं मिनेटमा सन्जोक राईले गोल गर्दै काठमाडौंको अग्रता दोब्बर पार्नुभयो । उहाँले विश्वास श्रेष्ठको क्रसलाई नियन्त्रणमा लिएर गोल गर्नुभएको हो । ४०औं मिनेटमा राजीव लोप्चनले चितवनका लागि एक गोल फर्काउनुभयो । सुनिल श्रेष्ठको प्रहारलाई गोलरक्षक रोमन रसाइलीले रोकेपनि रिवाउन्डमा आएको बललाई राजीवले पोस्टको दिशा दिनुभएको थियो ।

दोस्रो हाफमा भने कुनै गोल भएन । जितसँगै काठमाडौंले ६ खेलमा १३ अंक जोड्यो । चितवनले भने पुछारमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ । चितनले ६ खेलमा दुई अंक जोड्यो ।

खेलको म्यान अफ द म्याच काठमाडौंका तेज तामाङ हुनुभयो । उहाँले २५ हजार नगद हात पार्नुभयो । यस्तै खेलको उदीयमान खेलाडी काठमाडौं रेजर्सका विश्वास उदास हुनुभयो । उहाँले १० हजार नगद हात पार्नुभयो ।

अब शीर्ष दुई टोली धनगढी र काठमाडौंले फाइनलमा प्रवेशका लागि २८ वैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा हुने ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० वैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।


Views: 69