15th June | 2021 | Tuesday | 9:35:30 AM

धनगढी नेपाल सुपर लिगको फाइनलमा

  POSTED ON : बैशाख २९, २०७८ (८:५७ AM)

धनगढी नेपाल सुपर लिगको फाइनलमा

काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो ।

धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गर्नुभयो । काठमाडौंका तेज तामाङले एक गोल फर्काउनुभयो ।

खेलको निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जहाँ विशाल राईले धनगढीका लागि निर्णायक गोल गर्नुभयो । खेलको १ सय ८ औं मिनेटमा रमेश दंगालको पासमा अनमार्क रहेका विशालले पोस्ट नजिकैबाट गोल गर्दै धनगढीलाई फाइनलमा प्रवेश गराउनुभएको थियो ।

त्यसअघि काठमाडौंले अग्रता लिएपनि त्यसलाई जोगाउँन सकेन । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७५औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाउनुभएको थियो । उहाँले मेसौके ओलुमोउको क्रसलाई हेडमार्फत गोल गर्नुभएको थियो ।

तर त्यो अग्रता धेरैबेर टिकेन । धनगढीले त्यसको तेस्रो मिनेटमा नै बराबरी गोल फर्कायो । ७८औं मिनेटमा पुजन उपरकोटीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो । निशान लिम्बुको कर्नरलाई गोलरक्षक विकेश कुथुले पञ्च गरेपछि उठेको बलमा पुजनले ओभर हेड किकमार्फत उत्कृष्ट गोल गर्दै गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसअघि पहिलो हाफमा दुवै टोलीले बराबरी खेलेका थिए । खेलको १६औं मिनेटमा स्टेफन विनोङ समिरको प्रहार क्रसमाबारमा लागेर फर्किएको थियो । लगत्तै धनगढीका ओलावाले ओलाडिपो अफिजले पोस्टमा गरेको प्रहारलाई काठमाडौंका सन्जोक राईले क्लियर गरिदिनुभयो । ३७औं मिनेटमा काठमाडौंका सुदिल राईले गरेको प्रहारलाई धनगढीका गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाउनुभयो ।

पराजित काठमाडौंले अब २९ बैशाखमा हुने ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० वैशाखमा खेल्नेछ । उक्त खेलको विजेताले फाइनलमा जेठ १ गते धनगढीको सामना गर्नेछ ।

खेलपछि दोस्रो गोलमा महत्वपूर्ण सहायकको भूमिका निर्वाह गर्नुभएका धनगढीका रमेश दंगालले आफूहरूको लक्ष्य फाइनल प्रवेश गर्नु रहेको बताउनुभयो । ‘हामी फाइनल पुगेको छौं । हामी त्यही लक्ष्य लिएर प्रतियोगितामा आएका थियौं । मनोबल एकदमै उच्च छ । पहिलो पटक भएको यस खालको लिगको उपाधि जित्दै हामी इतिहास रच्न चाहान्छौं,’ उहाँले भन्नुभयो ।

प्रतियोगिताको उदीयमान खेलाडी धनगढी एफसीका सौजन राई चुनिनुभयो । उहाँले १० हजार नगद हात पार्नुभयो । यस्तै प्रतियोगिताको म्यान अफ द म्याच उसका विदेशी खेलाडी फ्राक्लिन इटाला चुनिनुभयो । उहाँले २५ हजार नगद हात पार्नुभयो । नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग जारी प्रतियोगितामा सात शहरका सात टोलीको सहभागिता रहेको छ । 


Views: 76