15th June | 2021 | Tuesday | 8:21:00 AM

ललितपुर क्वालिफायरमा, बुटवल बाहिरियो

  POSTED ON : बैशाख ३०, २०७८ (८:५२ AM)

ललितपुर क्वालिफायरमा, बुटवल बाहिरियो

काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको दोस्रो इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो । बुटवल भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब ललितपुरले फाइनल प्रवेशका लागि बिहीबार काठमाडौं रेजर्स एफसीको सामना गर्ने छ । काठमाडौंले यसअघि मंगलबार भएको पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित हुँदै दोस्रो क्वालिफायर खेल्ने निश्चित भएको थियो । काठमाडौं र ललितपुर टोलीबीचको विजेता टोलीले जेठ १ गते हुने फाइनलमा धनगढी एफसीको सामना गर्नेछ । धनगढीले भने काठमाडौंलाई पहिलो क्वालिफायरमा पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।

ललितपुरलाई क्वालिफायरमा पु¥याउन उसका कप्तान अन्जन बिष्टले निर्णायक गोल गर्नुभयो । खेलको ६१ औं मिनेटमा कप्तान अन्जनले मिक्छेन तामाङको क्रसमा डाइभ हान्दै उत्कृष्ट हेडर गोल गर्नुभएको थियो । ललितपुरको जितमा त्यहिँ गोल निर्णायक बन्यो ।

खेलपछि ललितपुर खेलाडी कमल श्रेष्ठले टोलीको मोटिभेसन राम्रो रहेको र अब उपाधि उचाल्नका लागि खेल्ने बताउँनुभयो । उहाँले प्ले अफमा पुग्न गाह्रो भएको स्थितिबाट उठेर यहाँसम्म उठेको भन्दै अब अझै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

खेलको उदीयमान खेलाडी ललितपुरका मिक्चेन तामाङ बन्नुभयो । उहाँले नगद १० हजार हात पार्नुभयो । यस्तै खेलको म्यान अफ द म्याच ललितपुरकै अर्पण कार्की बन्नुभयो । उहाँले २५ हजार नगद हात पार्नुभयो ।

नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग जारी प्रतियोगितामा सात शहरका सात टोलीको सहभागिता रहेको छ । 


Views: 67