15th June | 2021 | Tuesday | 9:47:40 AM

एनएसएलको उपाधिका लागि धनगढी र काठमाडौं भिड्ने

  POSTED ON : बैशाख ३१, २०७८ (८:४२ AM)

एनएसएलको उपाधिका लागि धनगढी र काठमाडौं भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि धनगढी एफसी र काठमाडौ रेजर्स एफसी भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको दोस्रो क्वालिफायरमा काठमाडौंले ललितपुर सिटी एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

धनगढी भने यसअघि नै पहिलो क्वालिफायरमा काठमाडौंलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको थियो । फाइनल जेठ १ गते हुनेछ । काठमाडौं र धनगढीबीच तेस्रोपटक जारी प्रतियोगितामा प्रतियोगिता भिडन्त हुन लागेको हो । यसअघि लिग चरण र क्वालिफायरमा धनगढीले काठमाडौंलाई पराजित गरिसकेको छ ।

ललितपुरविरुद्ध काठमाडौंले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल ग¥यो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल गर्नुभयो । खेलको १५औं मिनेटमा मेसौकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाउनुभयो । मेसौकेको पासमा स्टेफेनले बल अगाडि बढाउने क्रममा ललितपुरका डिफेन्डर कमल श्रेष्ठले बक्सभित्र लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा मेसौके चुक्नुभएन ।

खेलको २२औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाउनुभयो । तेज तामाङले डिबक्स बाहिर उपलब्ध गराएको बल अगाडि बढाउदै डिफेन्डर पिटरलाई विट गर्दै मेसौकेले उत्कृष्ट गोल गर्नुभएको थियो ।

खेलको ६०औं मिनेटमा काठमाडौंका अर्का विदेशी खेलाडी स्टेफेनले गोल गर्दै काठमाडौंलाई ३–० को जित दिलाउनुभयो । उहाँले तेज तामाङको पासमा बल नियन्त्रण गर्दै गोलरक्षक अर्पण कार्कीसँगको वान भर्सेज वानमा उत्कृष्ट गोल गर्नुभयो । खेलको उदीयमान खेलाडी काठमाडौंका आशिष गुरुङ चुनिनुभयो । उहाँले ट्रफीसँगै १० हजार हात पार्नुभयो । यस्तै प्रतियोगिताको म्यान अफ द म्याच काठमाडौंकै दुई गोलकर्ता मेसौके ओलोमेउले चयन हुनुभयो । उहाँले २५ हजार नगद हात पार्नुभयो ।

नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग जारी प्रतियोगितामा सात शहरका सात टोलीको सहभागिता छ । प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही एक लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि एक लाख रुपैयाँ हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रपैयाँ पाउनेछन् ।


Views: 100