15th June | 2021 | Tuesday | 9:45:42 AM

एनएसएलको फाइनल आज : दुवै टोलीको उपाधि उचाल्ने दाबी

  POSTED ON : जेठ १, २०७८ (८:४६ AM)

एनएसएलको फाइनल आज : दुवै टोलीको उपाधि उचाल्ने दाबी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । उपाधिका लागि शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा तेस्रो पटक आमनेसामने हुन लागेका दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।

यसअघिका दुई भिडन्तमा धनगढीले काठमाडौंलाई हराएको थियो । फाइनल अगाडिका पत्रकार सम्मेलनमा धनगढी एफसीका प्रशिक्षक फुजाले आफ्नो टोली आत्मविश्वासी रहेको भन्दै उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो । ‘हामीले काठमाडौंलाई लिग र प्ले अफमागरी दुईपटक हराइसकेका छौं । तर, फाइनललाई लिएर सचेत छौं,’ उहाँले भन्नुभयो, ‘हामी विपक्षीलाई सम्मान दिएर खेल्नेछौं । विपक्षीलाई कमजोर नठानी आफ्नो गेम खेल्दै च्याम्पियन बन्नेछौं । केही खेलाडी घाइते भएपनि रिकभरीमा छन् । आशा छ उनीहरू फर्कनेछन् ।’

यस्तै कप्तान किरण चेम्जाङले पनि धनगढी टिम लयमा रहेको र आफूहरू उपाधि जित्नेमा ढुक्क रहेको बताउनुभयो । उहाँले फाइनल खेल प्रतिस्पर्धात्मक हुने र अन्तिममा धनगढीले नै जित्ने दाबी गर्नुभयो । ‘काठमाडौंसँगका सबै खेलहरू सुपर थिए । कुनै खेल सहज थिएन । यसअघि खेल जितेपनि लिगमा भन्दा सेमिफाइनल र फाइनलमा बढी प्रतिस्पर्धा हुनेछ,’ उहाँले भन्नुभयो, ‘काठमाडौं रेजर्स राम्रो टोली हो । खेल पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ । कप्तानीको रूपमा क्लबबाट उपाधि जित्ने मौका आएको छ । आशा छ यसमा जित हाम्रो नै हुनेछ ।’ काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले पनि सुपर लिगको उपाधि काठमाडौंमै राख्ने गरेर खेल्ने बताउनुभयो । उहाँले फाइनलका लागि काठमाडौं निकै उत्साहित रहेको धारणा राख्नुभयो ।

‘काठमाडौंमै भइरहेको लिगमा काठमाडौं रेजर्स फाइनलमा पुगेको छ । यसपाली ट्रफी पनि घरबाहिर जान नदिई घरमै राख्ने हिसावले खेल्नेछौं,’ महर्जनले भन्नुभयो, ‘धनगढीसँग खेल्ने अवसर आएको छ । हार्ने मानसिकताले खेल्ने छैनौं । यो अवसरलाई गुमाउने छैनौ । आशा छ यो ट्रफी भ्यालीमै राख्नेछौं ।’ यस्तै काठकाडौंका कप्तान विकेश कुथुले पनि फाइनलमा जित्ने हिसावले खेल्ने बताउनुभयो । उहाँले यसअघि धनगढीसँग दुई पटक हारेकाले त्यसको बदला लिने सोचका साथ मैदानमा उत्रिने दाबी गर्नुभयो ।

‘लिगमा धेरै उतारचढाव आएको जित, बराबरी र हारको नतिजा निकाल्यौं । यसबाट पठ सिक्दै फाइनलसम्म आइपुगेका छौं,’ उहाँले भन्नुभयो, ‘उपाधि जित्ने हिसाबले नै खेल्नेछौं । धनगढीसँगको दुई हारले पाठ सिकेको सुधार्दै खेल्नेछौं । व्यक्तिगत रूपमा पहिलो कप्तानी अनुभव भएकाले सुखद् अन्त्य गर्ने लक्ष्य छ ।’ बिहीबार भएको दोस्रो क्वालिफायरमा काठमाडौंले ललितपुर सिटी एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । धनगढीले भने पहिलो क्वालिफायरमा काठमाडौंलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग जारी प्रतियोगितामा सात शहरका सात टोलीको सहभागिता छ । प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही एक लाख तथा उत्कृष्ट युवा खेलाडीले एक लाख रुपैयाँ हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउनेछन् ।


Views: 74