15th June | 2021 | Tuesday | 8:14:23 AM

कीर्तिमानी रोनाल्डो

  POSTED ON : जेठ १, २०७८ (८:५४ AM)

कीर्तिमानी रोनाल्डो

इटालियन क्लब युभेन्ट्सबाट तेस्रो सिजन खेलिरहनु भएका क्रिस्टियानो रोनाल्डोले कीर्तिमान रच्नुभएको छ । २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट रोनाल्डो युभेन्ट्स आउनुभएको थियो । तीन सिजनमा सय गोल पूरा गर्दै उहाँले क्लबका लागि सबैभन्दा छिटो सय गोल पूरा गर्ने कीर्तिमान रच्नु भएको हो ।

गत बुधबार राति भएको सासुओलोविरुद्धको खेलमा एक गोल गर्दै रोनाल्डोले उक्त, कीर्तिमान राख्नुभएको हो । उहाँले पहिलो हाफको अन्तिम समयमा गोल गर्नुभएको थियो । रोनाल्डोको गोलसँगै युभेन्टसले सासुओलोलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

रोनाल्डोले तीन सिजनमा १३१ खेल खेल्दै सय गोल पूरा गर्नुभएको हो । उहाँअघि युभेन्टसबाट १०० गोल पूरा गर्न ओमार सिभोरी र रोबर्टो बाजियोले पाँच सिजन लगाउनुभएको थियो । रोनाल्डोले गत वर्ष युभेन्ट्सका लागि सर्वाधिक गोल गर्नुभएको थियो । पहिलो सिजनमा २८ गोल गर्नुभएका रोनाल्डोले दोस्रो सिजनमा ३७ र यस सिजनमा ३५ गोल गसिक्नु भएको छ । अझै युभेन्ट्सले लिगमा दुई खेल खेल्न बाँकी छ । थप तीन गोल गरे उहाँले यस सिजनमा सर्वाधिक गोल गर्नुहुनेछ । 

यस्तै रोनाल्डो तीन फरक क्लब र राष्ट्रिय टोलीबाट १ सय गोल पूरा गर्ने पहिलो खेलाडीसमेत बन्नुभएको छ । यसअघि उहाँले म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका लागि पनि १ सय गरिसक्नुभएको छ । रोनाल्डोले यसअघि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट ११८ गोल गरिसक्नुभएको छ । रियलमा रहँदा भने उहाँले कीर्तिमानी ४५० गोल गर्नुभएको छ । उहाँ पोर्चुगलका लागि पनि सर्वाधिक गोलकर्ता हुनुहुन्छ । उहाँले राष्ट्रिय टोलीबाट १०३ गोल गर्नुभएको छ ।

अब युभेन्ट्सका लागि रोनाल्डोको सम्झौता एकवर्ष बाँकी छ । त्यसपछि उहाँ युभेन्ट्समै बस्नुहुन्छ कि क्लबबाट विदा हुनुहुनेछ भन्ने बहस चलेको छ । युभेन्ट्स आएको सुरुवाती दुई सिजनमा रोनाल्डोले टोलीलाई सिरी ए फुटबलको उपाधिसमेत जित्नुभएको थियो । तर, दुवै सिजनमा उहाँले टोलीलाई च्याम्पियन्स लिगमा भने खरो उतार्न सक्नुभएको छैन । युभेन्ट्सले उहाँलाई महँगो मूल्य हाल्दै च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित भिœयाएको थियो । रोनाल्डो आएपछि युभेन्ट्सले च्याम्पियन्स लिगमा सेमिफाइनलसम्म स्थान बनाए पनि त्यसअघि भने बढ्न सकेको छैन ।

उहाँको सम्झौता एक वर्ष बाँकी रहँदा पुनः रियल म्याड्रिड फर्कने समाचारहरू पनि बाहिरिएका छन् । त्यसबाहेक रोनाल्डोका लागि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले पनि प्रयास गरिरहेको छ । यस्तै अमेरिकी लिग फुटबलमा पनि रोनाल्डो जानसक्ने चर्चाहरू भएका छन् । खेलाडीहरू आफ्नो जीवनको उत्तरार्धमा अमेरिकी लिग खेल्ने परम्परा रहँदै आएको छ । रोनाल्डो हाल ३६ वर्ष पुग्नुभयो । विश्वको सर्वोेत्कृष्ट खेलाडीलाई वर्षेनी दिइने बालोन डि ओर उहाँले पाँच पटक जित्नुभएको छ ।

रोनाल्डोसँगै अर्जेन्टिनी स्टार पाउलो डिबालाले पनि सासुओलोविरुद्ध गोल गर्दै क्लबका लागि १ सय गोल पूरा गर्नुभएको थियो । उहाँले युभेन्ट्सका लागि २५२ गोल गर्दै १ सय गोल पूरा गर्नुभएको हो । उहाँ युभेन्ट्सका लागि १ सय गोल गर्ने पहिलो युरोपबाहिरको खेलाडीसमेत हुनुहुन्छ । 


Views: 81