21st June | 2021 | Monday | 1:05:22 PM

नाडाल फ्रेन्च ओपनको क्वार्टरफाइनलमा

एजेन्सी   POSTED ON : जेठ २६, २०७८ (८:०० AM)

नाडाल फ्रेन्च ओपनको क्वार्टरफाइनलमा

विश्ववरियतामा तेस्रो स्थानमा रहनुभएका स्पेनिस खेलाडी राफयल नाडाल फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । नाडालले १८औं वरियता प्राप्त इटालियन जान्निक सिन्नेरलाई ३–० को सोझो सेटमा पराजित गर्दै सोमबार अन्तिम आठमा स्थान पक्का गर्नुभएको हो ।

पेरिसमा सोमबार राति भएको खेलको पहिलो सेटमा सुरुवातमा २–० को अग्रता लिएपनि नाडाल ४–२ ले पछि पर्नुभएको थियो । तर नाडालले पहिलो सेट ७–५ ले आफ्नो पक्षमा पार्न सफल हुनुभयो । त्यसपछिको दुवै सेटमा नाडालले खासै संघर्ष गर्नुपरेन । दोस्रो सेट ६–३ ले सहजै आफ्नो पक्षमा पारेको नाडालले तेस्रो सेट ६–० ले सहजै आफ्नो पक्षमा पार्नुभएको थियो ।

अब ३६ वर्षीय नाडालले क्वार्टरफाइनलमा अर्जेन्टिनी डिएगो स्वार्टजमानको सामना गर्नुहुनेछ । डिएगोले जर्मनीका जान लेन्नार्ड स्ट्रफलाई ७–६, ६–४ र ७–५ ले पराजित गर्नुभएको थियो । नाडाल र डिएगो समग्रमा ११ पटक खेल्दा सबैमा नाडाल विजयी भएको छ । फ्रेन्च ओपनमा उहाँहरूको यो तेस्रो भेट हुनेछ । नाडालले २०१८ मा क्वार्टरफाइनलमा तथा २०२० मा सेमिफाइनलमा डिएगोलाई पराजित गर्नुभएको थियो ।

यस्तै शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचले इटालियन लोरेन्जो मुसेट्टीबाट वाकओभर पाएपछि क्वार्टरफाइनलम स्थान बनाउनुभएकोछ । मुसेट्टीले सुरुवाती दुई सेटमा ७–६ र ७–६ को जित निकाल्नुभएको थियो । त्यसपछिको दुई सेट भने ६–१ र ६–० ले गुमाउनुभएको थियो । निर्णायक सेटमा जोकोभिच ४–० ले अघि रहँदा उहाँले वाकओभर दिनुभएको थियो ।


Views: 60