21st June | 2021 | Monday | 12:40:52 PM

लात्भियाको पोस्टमा जर्मनीको सात गोल

एजेन्सी   POSTED ON : जेठ २६, २०७८ (८:०४ AM)

लात्भियाको पोस्टमा जर्मनीको सात गोल

जर्मनीले मैत्रीपूर्ण खेलमा सोमबार राति लात्भियालाई ७–१ गोलअन्तरले पराजित गरेको छ । युरोकप अघि अन्तिम मैत्रीपूर्ण खेल खेलेको जर्मनीको जितमा रोविन गोसेन्स, इल्केए गुण्डोगान, थोमस मुलर, सर्ज जिनाब्री, टिमो वेर्नर र लिरोए सानेले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

लात्भियाका एलेक्सेज साभेलजेभ्सले एक गोल फर्काए । जर्मनीले पहिलो हाफमै ५–० को अग्रता लिदा दोस्रो हाफमा दुई गोल थप्दा एक गोल खाएको थियो । खेलको १९औं मिनेटमा रोविन गोसेन्सले काई हाभर्टजको पासमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाउनुभयो । २१औं मिनेटमा इल्केए गुण्डोगानले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पार्नुभयो । २७औं मिनेटमा थोमस मुलर गोल गर्नुका साथै ३९औं मिनेटमा रोबर्टस ओजोल्सले आत्मघाती गोल गरेपछि जर्मनीले खेलमा ४–० को अग्रता बनायो । ४५औं मिनेटमा म्याट हमेल्सको एक गोल थप्नुभयो ।

५०औं मिनेटमा सब्सिच्युट टिमो वेर्नर, ७५औं मिनेटमा एलेक्सेज साभेलजेभ्सले र त्यसको एक मिनेटपछि नै ७६औं मिनेटमा अर्का सब्सिच्युट लिरोए सानेले थोमस मुलरको पासमा गोल गर्दै जर्मनीलाई ७–१ को फराकिलो जित दिलाउनुभएको हो । समूह ‘एफ’ मा रहेको जर्मनीले १५ जुनको राति विश्वविजेता फ्रान्ससँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । त्यसपछि १९ जुनमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल र २३ जुनमा हंगेरीसँग खेल्ने तालिका छ । 

यता, युरोकपमा छनोट हुन असफल लात्भियाले इष्टोनियासँग १० जुनमा अर्काे मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । यस्तै अन्य मैत्रीपूर्ण खेलमा युक्रेनले १० खेलाडीमा समेटिएको साइप्रसलाई ४–० ले पराजित गरेको छ । फारोई आइल्याण्डले लिचेस्टाइनलाई ५–१ ले पराजित गर्दा एन्डोरा र जिब्राल्टारले गोलरहित बराबरी खेलेका छन् ।


Views: 71