21st June | 2021 | Monday | 1:46:00 PM

ब्राजिलको जित, अर्जेन्टिना रोकियो

  POSTED ON : जेठ २६, २०७८ (९:३३ AM)

ब्राजिलको जित, अर्जेन्टिना रोकियो

एजेन्सी । नेयमारले एक गोल र एउटा एसिस्ट गरेपछि दक्षिण अमेरिकी छनोट खेलमा बुधबार ब्राजिलले पाराग्वेलाई २–० गोल अन्तरले पराजित गरेको छ । ब्राजिलको जितमा नेयमारले खेलको चौंथो मिनेटमा गाब्रियल जिससको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा नेयमारको पासमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए । छनोटमा यो ब्राजिलको लगातार छैटौं जित हो । ब्राजिल ६ खेलमा १८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ । पाराग्वे ६ खेलमा ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यता दक्षिण अमेरिकी छनोट अन्तर्गतकै खेलमा अर्जेन्टिना कोलम्बियासँग २–२ गोलको बराबरीमा रोकिएको छ । कोलम्बियाले २–० को अवस्था उल्टाउँदै २–२ को बराबरी गरेको हो । अर्जेन्टिनाको क्रिस्टियन रोमेरोले तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने आठौं मिनेटमा लिन्ड्रो डानिल पारेडेसले अर्को गोल गर्दै २–० को अग्रता दिलाए । खेलको ५१ मिनेटमा कोलम्बियाले पाएको पेनाल्टीमार्फत् लुइस मुरीएलले गोल गर्दै कोलम्बियालाई २–१ को स्थितिमा ल्याएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा मिगुएल बोर्जाले गोल गर्दै कोलम्बियालाई २–२ गोलको बराबरी गर्न सफल भएको हो । अर्जेन्टिनाले ६ खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । कोलम्बिया ६ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अरु खेलमा उरुग्वेले भेनेजुएलासँग गोलरहित बराबरी खेलेको छ भने पेरुले इक्वेडरलाई २–१ ले पराजित गरेको छ ।

Views: 68