21st June | 2021 | Monday | 1:41:38 PM

क्रिकेट खेलाडीलाई प्रतिखेलबापत १० हजार दिइने

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (७:२९ AM)

क्रिकेट खेलाडीलाई प्रतिखेलबापत १० हजार दिइने

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीले प्रतिएकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलबापत १० हजार रुपैयाँ दिने भएको छ । क्यानले आर्थिक कार्यविधि र नियमावली २०७७ मंगलबार पारित गर्दै उक्त निर्णय गरेको हो । कार्यविधिअनुसार महिला खेलाडीले भने पाँच हजार रुपैयाँ पाउनेछन् ।

क्यानको केन्द्रीय बोर्ड बैठकले आर्थिक समितिका क्यानका कोषाअध्यक्ष रोशन सिंह, सदस्य दुर्गाराज पाठक र माधव कर्माचार्यले प्रस्तुत गरेको उक्त कार्यविधि र नियमावली पारित गरेको हो । उक्त नियमावलीले ग्रास रुटबाट आउने खेलाडीदेखि अम्पायर, अफिसल, क्यान पदाधिकारी, ग्राउन्ड स्टाफ, जिल्ला र प्रदेश सबैले पाउने अधिकार, भत्ता, सेवा सुविधालाई सुनिश्चिता गरेको छ ।

‘दुई दशकपछि आर्थिक नियमावली जारी भएको छ । यसले आर्थिक पारदर्शितामा समेत सघाउ पु¥याउने विश्वास लिएका छौं,’ सिंहले भने, ‘अहिले खेलाडीका लागि निश्चित रकम तोकिए पनि भविष्यमा संशोधनमार्फत त्यसमा थप गर्दै लगिनेछ ।’ यस्तै आर्थिक नियमावली अनुसार टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता पुरुष खेलाडीले पाँच हजार र महिला खेलाडीले तीन हजार पाउनेछन् । महिला र पुरुष दुवै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता बन्द प्रशिक्षणमा रहँदा दैनिक पाँच सय भत्ता पाउनेछन् । जसमा यातयात सुविधा उपलब्ध गराउने जनाएको छ । क्यानले महिला र पुरुष दुवै खेलाडीलाई गतवर्ष अन्तर्राष्ट्रिय ओडीआई र टी–ट्वान्टी आईको म्याच फी पाँच हजार दिने निर्णय गरेको थियो ।

एकदिवसीय घरेलु प्रतियोगितामा पुरुष खेलाडीले दैनिक भत्ता दुई हजार पाँच सय र महिला खेलाडीले दुई हजार प्राप्त गर्ने छन् । टी–२० घरेलु प्रतियोगितामा पुरुष टोलीले दैनिक भत्ता २ हजार र महिला खेलाडीले एक हजार पाँच सय प्राप्त गर्ने छन् । बन्दसत्र म्याच फी पाँच सय हुनेछ । उमेर समूहको राष्ट्रिय प्रतियोगिता म्याच फी एक हजार हुनेछ । सबै म्याच फी खाना, बस्न र यातयात खर्च छोडेर हुनेछ ।

भ्रमणमा जाने सबै पदाधिकारी, खेलाडी, अफिसियल, मुख्य प्रशिक्षकका लागि विदेशमा १० लाख र स्वदेशमा पाँच लाख बराबर रकमको दुर्घटना बीमा गर्न लाग्ने खर्च क्यानले व्यहोर्ने सक्ने जनाएको छ । तर सामाजिक सुरक्षा कोषअन्तर्गत बीमा सुविधा पाएको खण्डमा संघले सो खर्च व्यहोर्ने छैन ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने नेपालको राष्ट्रिय टिम तथा विभिन्न उमेर समूहको महिला, पुरुष टोलीका खेलाडी, अफिसियल, प्रशिक्षक, चिकिल्सक लगायतले दैनिक भत्ता ५० अमेरिकी डलर पाउनेछन् । जुन खेल सुरु हुने दुई दिनअगाडि र खेल समाप्त भएको एक दिनपछि सम्म लागू हुनेछ । कार्यालय सञ्चालनका लागि जिल्लाले वार्षिक एक लाख र प्रदेशले तीन लाख रुपैयाँ प्राप्त गर्ने नियमावलीमा उल्लेख छ ।


Views: 62