21st June | 2021 | Monday | 12:53:12 PM

प्रशिक्षक खड्काको पहलमा राहत वितरण

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (७:४० AM)

प्रशिक्षक खड्काको पहलमा राहत वितरण

कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका सुकुम्बासी परिवारलाई राहत स्वरुप चामल प्रदान गरिएको छ । कागेश्वरी नगरपालिका वडा–६ स्थित मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छेउमै रहेको सुकुम्बासी टोलका ११ परिवारलाई ३० केजी बराबरको १-१ बोरा चामल वितरण गरिएको हो ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं प्रशिक्षक अशोक खड्काको पहलमा जोरपाटी निवासी तेक्वान्दोकै पूर्वप्रशिक्षक राजकुमार ढुंगानाले राहतका लागि सहयोग गर्नुभएको हो । खड्काले सुकुम्बासी टोलमै पुगेर सम्बन्धितलाई राहत वितरण गर्नुभयो । २०७२ सालको महाभूकम्पमा पनि खड्काकै अग्रसरतामा सोही टोलका पीडित सुकुम्बासीलाई टहरा निर्माण गरिदिनुका साथै पाल र राहत वितरण गरिएको थियो ।

जारी निशेधाज्ञाको अवधिमा ३७ परिवारलाई राहत वितरण गरिएको तथा दुई मृगौला पीडितलाई आर्थिक सहयोग पनि प्रदान गरिएको खड्काले जनाउनुभएको छ । कागेश्वरी नगरपालिका–२ का अशक्त वृद्धा ६७ वर्षीय बाबुलाल नगरकोटीलाई ओड्ने ओछ्याउनेका साथै राहत पनि उपलब्ध गराउनुभएको थियो । एक अपांग भुजेल परिवार तथा रूखबाट खसेर गम्भीर घाइते भएका एक कार्की परिवारलाई आर्थिक सहयोगका साथै राहत उपलब्ध गराउनुभएको थियो ।

कोरोनाकै कारण २०७६/२०७७ मा गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा समस्यामा परेका ४५० भन्दा बढी परिवारलाई अशोककै सक्रिएतामा राहत, स्वास्थ्य सामग्री र राहत प्रदान गरिएको थियो ।


Views: 51