थ्रीस्टारमा चारजना राष्ट्रिय टोलीका खेलाडी

हिमालय टाइम्स   POSTED ON : श्रावण ६, २०७८ (८:१२ AM)

थ्रीस्टारमा चारजना राष्ट्रिय टोलीका खेलाडी

काठमाडौं । थ्रीस्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगका लागि राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई अनुबन्ध गरेको छ । थ्रीस्टारले राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङसहित सञ्जोक राई, निशान खड्का र आयुष घलानलाई नयाँ सिजनका लागि अनुबन्ध गरेको हो ।

अनन्तले थ्रीस्टारबाट पछिल्लो सिजनको ए डिभिजन लिग खेल्नुभएको थियो । चोटका कारण उहाँले गत वैशाखमा भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) खेल्नुभएन । यस्तै सञ्जोकले समेत पछिल्लो सिजन थ्रीस्टारबाट खेल्नुभएको थियो । सञ्जोक प्रेरित नेपालले गत चैतमा सम्पन्न थ्री नेसन्स फुटबलमा स्वर्ण पदक हात पारेको थियो । उहाँले वैशाखमा भएको फ्रेन्चाइज फुटबल एनएसएलमा काठमाडौंबाट खेल्नुभएको थियो । काठमाडौं एनएसएलको च्याम्पियन बनेको थियो ।

निशानले पनि थ्रीस्टारबाट नै पछिल्लो सिजनको ए डिभिजन लिग खेल्नुभएको थियो । एनएसएलमा भने उहाँ धनगढी एफसीमा आबद्ध हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा हुनुहुन्छ ।

आयुष राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा भए पनि उहाँसँग ए डिभिजन लिगको अनुभव छैन । उहाँले विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्ध डेब्यु गर्नुभएको थियो ।

थापाको सम्झौता नवीकरण

जावलाखेल युथ क्लबका गोलकिपर टेकेन्द्र थापाले क्लबसँगको सम्झौता नवीकरण गर्नुभएको छ । पहिलो रोजाइका गोलकिपर थापाले आगामी ए डिभिजन लिग र राष्ट्रिय लिगसम्मका लागि जावलाखेलसँग सम्झौता गर्नुभएको हो । ए डिभिजन लिग असोज ३ गतेबाट सुरु हुँदैछ ।

कञ्चनपुर निवासी गोलकिपर थापाले पछिल्लो चार वर्षयता जावलाखेलबाट खेल्दै आउनुभएको छ । पहिलो फ्रेन्चाइच फुटबल नेपाल सुपर लिग (एनएसएल) मा थापा धनगढी सिटीमा आबद्ध हुनुहुन्थ्यो । धनगढी एनएसएलको उपविजेता बनेको थियो ।


Views: 59

Top